काठमाडौं :
निर्देशक सौरभ चौधरीको महत्वाकांक्षी चलचित्र ‘द राइज अफ साम्राज्य’को औपचारिक छायांकन सुरु भएको छ। मङ्गलबार विराटनगरमा शुभमुहूर्त गर्दै निर्माण टिमले चलचित्रको सुटिङ थालेको हो।
अघिल्ला चलचित्रको तुलनामा यसपटक सौरभले यसलाई अझ ठूलो क्यानभासमा निर्माण गर्न लागेका हुन्। ‘एपिक एक्सन ड्रामा’का रूपमा निर्माण हुने यस चलचित्रका लागि ७० दिनको छायांकन तालिका तय गरिएको छ। चलचित्रको अधिकांश छायांकन पूर्वी नेपालका विभिन्न स्थानहरूमा गरिनेछ।

चलचित्रमा स्थापित तथा अब्बल कलाकारहरूको बलियो उपस्थिति रहेको छ। सौगात मल्ल, दयाहाङ राई, नाजिर हुसेन, विजय बराल, अञ्जना बराइली, सुशील श्रेष्ठ र अमरप्रताप श्रेष्ठ मुख्य भूमिकामा देखिँदैछन्। यति सशक्त टिमसँग सहकार्य गर्न पाउँदा निर्देशक चौधरीले उत्साह व्यक्त गरेका छन्।
चलचित्रमा विशेष गरी सौगात मल्लको भूमिका निकै चुनौतीपूर्ण रहने बताइएको छ। उनले २५ वर्षको युवादेखि ८० वर्षको वृद्धसम्मको जीवन यात्रालाई पर्दामा उतार्नेछन्। एउटै पात्रको यति लामो उमेर-अन्तरलाई अभिनयमार्फत प्रस्तुत गर्नु सौगातका लागि समेत महत्त्वपूर्ण अनुभव बन्नेछ।
यसै चलचित्रमार्फत निर्देशक सौरभले पहिलोपटक अभिनेता दयाहाङ राईसँग सहकार्य गर्दैछन्। उनका अनुसार दर्शकले दयाहाङलाई यसपटक एकदमै फरक अवतारमा देख्न पाउनेछन्। ‘अगस्त्यः च्याप्टर १’ मा सौगात र विजयसँग काम गरिसकेका सौरभले उनीहरूसँग पुनः सहकार्य गरेका हुन् भने अभिनेता सुशील श्रेष्ठसँग करिब ६ वर्षपछि उनको पुनर्मिलन भएको छ। यसअघि उनीहरूले सौरभको पहिलो निर्देशकीय चलचित्र ‘लभ डायरीज’मा काम गरेका थिए। अर्का कलाकार अमरप्रताप श्रेष्ठले भने यसै भूमिकाका लागि निर्देशक सौरभको निगरानीमा विगत साढे दुई वर्षदेखि विशेष प्रशिक्षण लिइरहेका थिए।
‘द राइज अफ साम्राज्य’को कथा तथा पटकथा चर्चित उपन्यासकार बुद्धिसागरले लेखेका हुन्। डार्क हर्स इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भइरहेको यो चलचित्रलाई नेपाली सिनेमा क्षेत्रकै ठूलो स्केलको एक्सन चलचित्र बनाउने निर्माण पक्षको दाबी छ। प्रवेश चौधरी र निला देव निर्माता रहेको चलचित्रका सह-निर्माता विश्वास बस्नेत (बेन) र कार्यकारी निर्माता शंकर पाण्डे हुन्। मानकृष्ण महर्जनको छायांकन रहने चलचित्रमा श्री श्रेष्ठको एक्सन निर्देशन छ। चलचित्रको डिजिटल पार्टनर ओएसआर डिजिटल, पब्लिसिटी पार्टनर टौवा स्टुडियो र वितरक डिसीएन रहेका छन्।