स्याङ्जा,
पोखरेलले आफ्नो उम्मेदवारीलाई पद प्राप्तिको प्रतिस्पर्धाभन्दा पनि लामो समयदेखि पार्टी संगठन र सामाजिक क्षेत्रमा गर्दै आएको कामको निरन्तरताका रूपमा प्रस्तुत गरेका छन्। पार्टीभित्रका विभिन्न धार र विचारलाई समेट्दै संगठनलाई सुदृढ, अनुशासित, एकताबद्ध र जनमुखी बनाउने उनको प्रतिबद्धता छ।
बिरुवा गाउँपालिकाको सभापतिका रूपमा रहँदा संगठन विस्तार, कार्यकर्तासँग निरन्तर संवाद तथा स्थानीय तहमा पार्टी गतिविधिलाई सक्रिय बनाउने काममा आफू केन्द्रित रहेको पोखरेल बताउँछन्। उनी यसअघि बिरुवा गाउँपालिका अध्यक्ष पदका उम्मेदवारसमेत बनेका थिए।
विपद्मा सामाजिक सेवामा सक्रिय
राजनीतिक यात्रासँगै पोखरेलको सामाजिक सेवाको पाटोलाई पनि उनका समर्थकहरूले प्रमुख रूपमा अघि सारेका छन्। उपलब्ध विवरणअनुसार कोरोना महामारी, भूकम्प तथा बाढीपहिरोजस्ता विपद्का समयमा उनले राहत तथा सहयोगका गतिविधिमा सक्रिय भूमिका निर्वाह गरेका थिए।
कोरोना महामारीका क्रममा स्वास्थ्य सामग्री, अस्पतालका लागि आवश्यक उपकरण, मास्क तथा स्यानिटाइजर व्यवस्थापन र वितरणमा सहयोग गर्नुका साथै विपद् प्रभावित परिवारसम्म राहत पुर्याउने कार्यमा उनी संलग्न रहेको बताइएको छ।
लायन्स क्लब, विभिन्न सामाजिक संस्था तथा फाउन्डेसनमार्फत विपद् व्यवस्थापन र मानवीय सेवामा समेत काम गरेका पोखरेलले लायन्सको डिजास्टर फन्डबाट स्रोत जुटाएर स्याङ्जाका विपद् प्रभावित क्षेत्रमा सहयोग पुर्याउन भूमिका खेलेको उनका सहयोगीहरूको दाबी छ।
आर्थिक तथा सामाजिक रूपमा पछाडि परेका परिवार, दलित समुदाय, एकल महिला तथा विपद् प्रभावित नागरिकलाई खाद्यान्न, आवास तथा अन्य आवश्यक सामग्री सहयोगदेखि उद्धार र राहतसम्मका काममा आफूले योगदान गर्दै आएको पोखरेल पक्षको भनाइ छ।
क्षेत्रीय सभापतिका उम्मेदवार पोखरेलले समूहगत वा व्यक्तिगत आग्रहभन्दा संगठनको हितलाई प्राथमिकतामा राख्नुपर्ने बताएका छन्। उनले आफ्नो मूल प्रतिबद्धता ‘सबैको सम्मान, सबैसँग सहकार्य र बलियो संगठन’ रहेको उल्लेख गरेका छन्।
उनले भनेका छन्, “एकता हाम्रो शक्ति हो, सहकार्य हाम्रो संस्कार हो र संगठन हाम्रो साझा जिम्मेवारी हो।”
क्षेत्रीय अधिवेशन नजिकिँदै जाँदा उम्मेदवारहरूको सांगठनिक अनुभव, कार्ययोजना, सामाजिक योगदान तथा कार्यकर्तासँगको सम्बन्ध प्रतिनिधिहरूबीच छलफलको विषय बनेको छ। पोखरेलले पालिका तहमा हासिल गरेको अनुभवलाई क्षेत्रीय तहमा विस्तार गर्दै संवाद, सहकार्य, अनुशासन र समावेशी सहभागितामा आधारित संगठन निर्माण गर्ने एजेन्डा अघि सारेका छन्।