पोखरा,
इम्ब्रोइडरी एण्ड गार्मेन्ट एसोसिएसन (एगा) पोखराको अध्यक्षमा गीता ढकाल पौडेल निर्वाचित हुनुभएको छ । संस्थाको १२औँ अधिवेशन तथा २३औँ साधारणसभाबाट पौडेलको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो ।
एगाको इतिहासमा पहिलोपटक महिला अध्यक्ष निर्वाचित हुनुभएको हो । नयाँ कार्यसमितिको उपाध्यक्षमा माया सुवेदी, सचिवमा सुरेन्द्र पौडेल, सहसचिवमा रामकृष्ण तिमिल्सिना र कोषाध्यक्षमा सुशील ढकाल सर्वसम्मत चयन हुनुभएको छ ।
त्यस्तै सदस्यहरूमा नारायणप्रसाद पाण्डे, प्रमिला थापा, उमनाथ भट्टराई, रामहरि भट्ट र जगतनारायण श्रेष्ठ चयन हुनुभएको छ । संस्थाले पत्रकार माधव पनेरुलाई मिडिया सल्लाहकारमा चयन गरेको छ ।
अधिवेशनको औपचारिक कार्यक्रममा नेपाल पर्यटन बोर्डका सदस्य सन्तोष पोखरेलले इम्ब्रोइडरीमार्फत नेपालको पहिचान विश्वसामु पुर्याउँदै आएको एगासँग सहकार्य गर्न पर्यटन बोर्ड तयार रहेको बताउनुभयो ।
नेपालका हिमाल र सगरमाथासँगै सांस्कृतिक तथा ऐतिहासिक धरोहरलाई धागोमार्फत कलात्मक रूपमा विश्वसामु चिनाउने एगाको काम महत्वपूर्ण रहेको उहाँको भनाइ थियो । राज्यले गर्न नसकेको पर्यटन प्रवर्द्धनको काम एगाले गरिरहेको भन्दै उहाँले आगामी दिनमा संस्थासँग सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घ गण्डकीका वरिष्ठ उपाध्यक्ष सूर्य भुजेलले पोखरामा अन्तर्राष्ट्रिय हवाई सेवा विस्तार हुन थालेसँगै आर्थिक गतिविधि बढाउन निजी क्षेत्र थप सक्रिय हुनुपर्ने बताउनुभयो । उद्योग वाणिज्य सङ्घ र पर्यटन क्षेत्रका संस्थाबीच प्रभावकारी समन्वय आवश्यक रहेको उहाँको भनाइ थियो ।
भुजेलले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा आफू अनशन बसेको प्रसङ्ग स्मरण गर्दै विमानस्थल सञ्चालनसँगै पोखराको आर्थिक गतिविधिलाई थप चलायमान बनाउनुपर्नेमा जोड दिनुभयो ।
पोखरा पर्यटन परिषद्का अध्यक्ष हरि भुजेलले कुनै पनि क्षेत्र आफैँमा पूर्ण नहुने भन्दै दोषारोपणभन्दा सहकार्यबाट समस्या समाधान गर्नुपर्ने बताउनुभयो । पर्यटन परिषद् सबै पक्षसँग सहकार्य गर्न तयार रहेको उहाँले बताउनुभयो ।
पोखरा उद्योग वाणिज्य सङ्घकी अध्यक्ष शोभा गौतमले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनल सञ्चालनको तयारीलाई निजी क्षेत्रका लागि गौरव र विगतको आन्दोलनको उपलब्धिका रूपमा ग्रहण गर्दै पर्यटन तथा आर्थिक गतिविधि विस्तारमा अघि बढ्न आग्रह गर्नुभयो ।
एगाका पूर्वअध्यक्ष तथा पर्यटन व्यवसायी इन्द्र भण्डारीले पर्यटन क्षेत्रमा कोही अग्लो र कोही होचो भन्ने मानसिकता रहेसम्म विकास सम्भव नहुने बताउनुभयो । उहाँले पर्यटन क्षेत्रको विकासका लागि ‘सँगसँगै’ भन्ने भावनालाई स्थापित गर्न सबै पक्षसँग आग्रह गर्नुभयो ।
नवनिर्वाचित अध्यक्ष गीता ढकाल पौडेलको नेतृत्वमा एगाले इम्ब्रोइडरी तथा गार्मेन्ट क्षेत्रको प्रवर्द्धनसँगै नेपाली कला, संस्कृति र पर्यटनलाई अन्तर्राष्ट्रिय बजारमा पुर्याउने अभियानलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।