पोखरा,
विश्व पर्यटन दिवसको अवसरमा रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान) पोखराले ‘विश्व पर्यटन दिवस मिनी सडक महोत्सव–२०२६’ आयोजना गर्ने भएको छ। सेप्टेम्बर २७ अर्थात् असोज ११ गते पोखराको लेकसाइड क्षेत्रमा सांस्कृतिक, मनोरञ्जनात्मक तथा पर्यटन प्रवद्र्धनात्मक कार्यक्रमसहित महोत्सव आयोजना गर्न लागिएको हो।
महोत्सवमार्फत ‘नेपाल खुला छ, पोखरा पर्यटक स्वागतका लागि तयार छ’ भन्ने सकारात्मक सन्देश देश तथा विदेशमा प्रवाह गर्ने उद्देश्य रहेको रेवान पोखराका अध्यक्ष बसन्त गौतमले बताए।
विश्व पर्यटन दिवसको यस वर्षको मूल नारामा समेटिएको ‘पर्यटनलाई पुनःपरिकल्पना गर्न डिजिटल एजेन्डा र कृत्रिम बुद्धिमत्ता’ भन्ने अवधारणालाई समेत महोत्सवमा जोड दिइने उनले बताए। पर्यटन क्षेत्रमा चुनौती रहे पनि व्यवसायीहरू उत्साहका साथ पर्यटन सिजनको स्वागत गर्न तयार रहेको गौतमको भनाइ छ।
पोखरा पर्यटन परिषद्का अध्यक्ष हरि भुजेलले पर्यटन व्यवसायलाई चलायमान बनाउन स्थानीयस्तरमा आयोजना हुने यस्ता कार्यक्रमले सकारात्मक सन्देश प्रवाह गर्ने बताए। उनका अनुसार यस वर्ष विश्व पर्यटन दिवसलाई एकदिने कार्यक्रमका रूपमा मात्र नभई पर्यटन सप्ताहकै रूपमा अघि बढाइएको छ।
भुजेलले डिजिटल प्रविधि तथा कृत्रिम बुद्धिमत्ताको प्रयोगमार्फत पोखरा र नेपालका पर्यटन गन्तव्यलाई अन्तर्राष्ट्रिय बजारमा नयाँ ढंगले प्रचार गर्नुपर्नेमा जोड दिए। नेपाल सुरक्षित रहेको, पर्यटन गतिविधि सञ्चालनमा रहेको र पोखरा पर्यटक स्वागतका लागि तयार रहेको सन्देश विश्व बजारमा पुर्याउन आवश्यक रहेको उनले बताए।
नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका वरिष्ठ कार्यक्रम अधिकृत जयशक्ति सराफले स्थानीयस्तरमा आयोजना हुने कार्यक्रमले पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्ने बताए। उनले पोखराको पर्यटनलाई नयाँ पुस्ता, डिजिटल माध्यम र प्रविधिसँग जोडेर अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउनुपर्ने धारणा राखे।
रेवानका महासचिव विरेन्द्र शेरचनका अनुसार महोत्सवले पोखराको मौलिक कला-संस्कृति, स्थानीय खानाका परिकार, आतिथ्य तथा पर्यटन व्यवसायलाई पर्यटकमाझ प्रस्तुत गर्नेछ।
महोत्सवमा मुख्य स्टेजमा विभिन्न सांस्कृतिक नृत्य तथा मनोरञ्जनात्मक कार्यक्रम प्रस्तुत गरिनेछ। सेन्टर प्वाइन्ट चोकस्थित चौतारामा साँझ ४ बजेदेखि १० बजेसम्म गन्धर्व गायन प्रस्तुत गरिनेछ। यस्तै, लेकसाइड स्ट्रिट नं. ४ देखि बीच क्षेत्रसम्म विभिन्न सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रम सञ्चालन गरिने आयोजकले जनाएको छ।