काठमाडौँ :
नेपाली चलचित्र ‘हाम्रो सानो घर’ मा अभिनेत्री तथा मोडल पूर्णिका सिजापति मुख्य अभिनेत्रीका रूपमा अनुबन्धित भएकी छन्। निर्देशक तथा लेखक सुमन गजमेरको निर्देशनमा बन्न लागेको यस चलचित्रमा पूर्णिकाको प्रवेशसँगै निर्माण पक्षले कलाकार छनोटको प्रक्रियालाई थप तीव्रता दिएको छ।
१६ वर्षको उमेरदेखि नै मोडलिङ यात्रा सुरु गरेकी पूर्णिका ‘फेस अफ टिन २०२१’ र ‘फेस अफ क्लासिक डायमन्ड २०२४’ की उपाधि विजेता हुन्। मोडलिङ तथा कन्टेन्ट क्रिएसनमा सक्रिय उनी चलचित्र ‘आचार्य’ मार्फत अभिनय क्षेत्रमा प्रवेश गरिसकेकी छन्, जहाँ उनले नेपालीसँगै बलिउड र दक्षिण भारतीय कलाकारहरूसँग स्क्रिन सेयर गरेकी छिन्। अब भने उनी ‘हाम्रो सानो घर’ मार्फत मुख्य अभिनेत्रीका रूपमा दर्शकमाझ आउने भएकी छन्।
रे अफ आर्ट प्रालिको ब्यानरमा निर्माण हुन लागेको यो चलचित्र समकालीन नयाँ पुस्ता अर्थात् ‘जेनेरेसन–जेड’ (Gen Z) को प्रेम, सम्बन्ध, सपना र जीवनशैलीमा आधारित रहनेछ। प्रेमकथाका साथै नेपाली समाजमा व्याप्त जातीय तथा वर्गीय विभेद, बदलिँदो सामाजिक सोच र नयाँ पुस्ताका आकांक्षालाई चलचित्रले प्रस्तुत गर्ने निर्माण पक्षले जनाएको छ।
यस चलचित्रका निर्देशक सुमन गजमेरको यो पहिलो फिचर निर्देशकीय चलचित्र हो। यसअघि उनले ‘रंगी’, ‘एक्का तीन : च्याप्टर १’ र ‘शेर्वा’ जस्ता चलचित्रमा लेखन तथा ‘कठपुतली’, ‘बाबरी’, ‘महापुरुष’ र ‘बलिदान’ मा सहायक निर्देशकका रूपमा काम गरिसकेका छन्। उनको अन्तर्राष्ट्रिय महोत्सवमा छनोट भएको लघु चलचित्र ‘बत्तीको पुतली’ ले पनि चर्चा कमाएको थियो।
दशैंपछि छायांकनमा जाने तयारीमा रहेको यस चलचित्रका अन्य कलाकार तथा प्राविधिक टोली छनोटको काम अन्तिम चरणमा पुगेको छ। मुख्य पुरुष कलाकारको औपचारिक घोषणा भने केही समयपछि गरिने र त्यसपछि चलचित्रबारे थप जानकारी सार्वजनिक गरिने बताइएको छ।