काठमाडौँ :
रोशन दासको निर्देशनमा निर्माण भएको चलचित्र ‘प्रतिवैरम्’ को आइटम गीत ‘माहोल गरम’ नेपाली, हिन्दी, मैथिली र भोजपुरी गरी चार भाषामा सार्वजनिक गरिएको छ। चलचित्रको प्रचारप्रसारलाई तीव्रता दिने उद्देश्यले सार्वजनिक गरिएको यो गीतको नेपाली संस्करण ओएसआर डिजिटल र अन्य भाषाका संस्करणहरू आदर्श प्रोडक्सनबाट रिलिज गरिएको हो।
नेपाली संस्करणमा रोशन दासको शब्द, मनीष अधिकारीको संगीत र हृतिका श्रेष्ठको स्वर रहेको छ, जहाँ अभिनेत्री प्रियंका कार्कीलाई ‘बसन्ती’ को भूमिकामा प्रस्तुत गरिएको छ। हिन्दी संस्करण ‘जवानी कातिल’, मैथिली संस्करण ‘जवानी सेहो कातिल’ र भोजपुरी संस्करण ‘गाउँवा बा घायल’ शीर्षकमा ल्याइएको छ। सुरेन्द्र बसेलको कोरियोग्राफी रहेको यस गीतमा प्रियंकाका साथै नवीन श्रेष्ठ, रोनी यादव, नारायण बिक र प्रदीप ढकालको अभिनय छ। गीतको भिडियोमा मनोरञ्जनात्मक प्रस्तुतिका साथै फिल्मका प्रमुख एक्सन दृश्यहरू समेत समेटिएका छन्।
गीतको अन्त्यतिर चलचित्रका डेब्यु अभिनेता सम्राट दासलाई प्रखर एक्सन अवतारमा देखाइएको छ। सम्राटसँगै बिरेन्द्र सिंह कुशवाहा, आलिशा बास्तोला, सुप्रज्ञा शर्मा र रमेश बुढाथोकी लगायतका कलाकारको अभिनय रहेको यो चलचित्रलाई रेज इन्टरटेन्टमेन्टको प्रस्तुतिमा हर्ष कुमार यादव र सत्यराज चौलागाईंले निर्माण गरेका हुन्।
मधेशको सामाजिक परिवेश, अपराध, सम्बन्ध र बदलाको कथा समेटिएको ‘प्रतिवैरम्’ मंसिर ४ गतेदेखि देशभरका सिनेमा घरहरूमा प्रदर्शनमा आउने तयारीमा छ। यो चलचित्र नेपालीसँगै हिन्दी, मैथिली र भोजपुरी भाषामा समेत प्रदर्शन गरिने निर्माण पक्षले जनाएको छ।