काठमाडौँ :
नेपाली सांगीतिक क्षेत्रमा प्रवेश गरेको करिब तीन वर्षमै आफ्नो छुट्टै पहिचान बनाउन सफल गायिका तथा मोडल रिया खत्रीले नयाँ सांगीतिक प्रस्तुति ‘युके शहर’ सार्वजनिक गरेकी छन्। शुक्रबार राजधानीमा आयोजित एक विशेष कार्यक्रमका बिच उक्त गीतको औपचारिक विमोचन गरिएको हो।
सार्वजनिक गीतमा रिया खत्री र कृष क्षेत्रीको संयुक्त स्वर रहेको छ भने भिडियोमा पनि उनीहरू दुवैको मुख्य अभिनय देख्न सकिन्छ। तिलक ठकुरीको निर्देशनमा तयार भएको यो भिडियो लामो मेहनत, संघर्ष र तयारीपछि दर्शकमाझ ल्याइएको हो।
गायिका रियाका अनुसार यो सांगीतिक प्रस्तुति नेपालमा रहेका दर्शकसँगै विदेशमा बसोबास गर्ने करिब ८० लाख नेपालीहरूलाई समेत लक्षित गरेर निर्माण गरिएको हो। गीत सार्वजनिक गर्दै उनले सम्पूर्ण दर्शक तथा श्रोतालाई भिडियो हेरेर प्रतिक्रिया दिन र मन परेमा आफ्ना साथीभाइ, परिवार तथा आफन्तसम्म पुर्याइदिन विशेष आग्रह गरेकी छन्।