काठमाडौँ :
आगामी असोज १६ गतेदेखि देशभर प्रदर्शनमा आउन लागेको चलचित्र ‘चंगुल’ को राष्ट्रिय भावनामा आधारित नयाँ गीत ‘हार्नेछन् देशका दुस्मन’ सार्वजनिक गरिएको छ। प्रदर्शनको मिति नजिकिँदै गर्दा निर्माण पक्षले तीव्र पारिएको प्रचारप्रसारकै क्रममा उक्त गीत दर्शकमाझ ल्याएको हो। सार्वजनिक गीतमा चलचित्रका मुख्य नायक रवि कार्कीको शब्द रचना, विपिन आचार्यको संगीत र विश्व नेपालीको स्वर रहेको छ।
चलचित्रले देश परिवर्तनको हुटहुटी बोकेको एक व्यक्तिले निस्वार्थ रूपमा अघि बढ्दा पार्न सक्ने प्रभावका साथै हालैको ‘जेन-जी’ (Gen Z) आन्दोलन अघि र पछिको सामाजिक-राजनीतिक परिस्थितिलाई मुख्य विषयवस्तु बनाएको छ। राम गौतमको निर्देशन तथा मालती कार्कीको निर्माणमा तयार भएको यस चलचित्रमा रवि कार्की, लय संग्रौला, लक्ष्मीनाथ तिमल्सिना, राकेशकुमार राई, आशा विश्वकर्मा, स्वस्तिका लामिछाने, कृष्ण रसाल, रोहित ढुंगाना र बालकलाकार रिम्शा कार्कीको मुख्य अभिनय रहेको छ।
विपिन आचार्य, नन्दनी अधिकारी र विक्रम कार्कीको संगीत, दीपेन बस्न्यातको छायांकन तथा सम्पादन र देव महर्जनको द्वन्द्व निर्देशन रहेको ‘चंगुल’ टिमले चलचित्रको प्रदर्शनबाट हुने खुद नाफाको केही प्रतिशत रकम घाइते ‘जेन-जी’ नेपालीहरूका साथै बाढीपीडितको राहत र सहयोगका लागि छुट्याउने घोषणासमेत गरेको छ।