सुचना, समाचार र मनोरन्जन

मनोज गुरुङ पर्वतबाट महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी

पर्वत,

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पर्वतबाट महाधिवेशन प्रतिनिधि पदमा समाजसेवी तथा सामाजिक अभियन्ता मनोज गुरुङले उम्मेदवारी प्रस्तुत गर्ने भएका छन्।

लामो समयदेखि आदिवासी जनजातिको हक, अधिकार र सामाजिक विकासका क्षेत्रमा सक्रिय गुरुङले आफ्नो सामाजिक तथा राजनीतिक अनुभवलाई पार्टीको संगठनात्मक भूमिकासँग जोड्दै महाधिवेशन प्रतिनिधिका रूपमा अघि बढ्ने बताएका छन्।

वि.सं. २०६५ सालमा आदिवासी जनजाति समन्वय परिषद् पर्वतको उपाध्यक्षको जिम्मेवारी सम्हालेका गुरुङले आदिवासी जनजातिका अधिकार, पहिचान र सामाजिक मुद्दालाई निरन्तर उठाउँदै आएका छन्। उनी नेपाल तरुण दलको केन्द्रीय सदस्यको जिम्मेवारीसमेत सम्हालिसकेका व्यक्ति हुन्।

विशेषगरी पर्वतको आर्थर डाँडाखर्काको विकास र सामाजिक रूपान्तरणमा गुरुङको सक्रियता रहँदै आएको छ। शिक्षा, स्वास्थ्य, रोजगारी, यातायात तथा पूर्वाधार विकासका क्षेत्रमा समुदायसँग सहकार्य गर्दै विभिन्न सामाजिक अभियानमा उनले भूमिका निर्वाह गर्दै आएका छन्।

राजनीतिलाई सामाजिक सेवासँग जोडेर अघि बढाउने धारणा राख्ने गुरुङले पार्टी संगठनलाई थप समावेशी, जनमुखी र समुदायसँग जोडिएको बनाउन आफ्नो अनुभव उपयोग गर्ने बताएका छन्।

उनले पर्वतका क्षेत्रीय प्रतिनिधिहरूसमक्ष आफ्नो उम्मेदवारी प्रस्तुत गर्दै पार्टीप्रतिको आफ्नो प्रतिबद्धता, सामाजिक क्षेत्रमा गरेको योगदान र सांगठनिक अनुभवलाई मूल्यांकन गरी सहयोग गर्न आग्रह गरेका छन्।

Leave A Reply

Your email address will not be published.