पोखरा,
नेपालीहरूको महान् पर्व बडादशैंको अवसरमा पोखरामा आयोजना हुन लागेको ‘दशैं फेस्ट २०८३’ मा चर्चित सांगीतिक समूह मन्त्र, गायिका तृष्णा गुरुङ एण्ड द कोल्याब तथा टुकी एउटै मञ्चमा प्रस्तुत हुने भएका छन्।
मिररकिङ्ग इन्टरटेन्मेन्ट प्रालि र बीटुडी डान्स स्कुलको संयुक्त आयोजनामा आगामी असोज २४ देखि २६ गतेसम्म पोखराको अमरसिंह चौरमा ‘दशैं फेस्ट २०८३’ आयोजना हुन लागेको हो। ‘संगीत, संस्कृति र नृत्यलाई एउटै मञ्चमा’ भन्ने अवधारणासहित आयोजना गर्न लागिएको फेस्टमा नेपाली मौलिक कला, संस्कृति, नृत्य तथा संगीतलाई विशेष प्राथमिकता दिइने आयोजकले जनाएको छ।
फेस्टको पहिलो दिन असोज २४ गते ‘डान्सिङ सुपरस्टार’ आयोजना हुनेछ। सोही दिनको मुख्य सांगीतिक आकर्षणका रूपमा मन्त्र, तृष्णा गुरुङ एण्ड द कोल्याब र टुकीले विशेष प्रस्तुति दिनेछन्। एउटै स्टेजमा तीन फरक सांगीतिक स्वाद प्रस्तुत हुने भएकाले पहिलो दिनको कार्यक्रम दर्शकका लागि विशेष बन्ने आयोजकको अपेक्षा छ।
मिररकिङ्ग इन्टरटेन्मेन्ट प्रालि तथा बीटुडी डान्स स्कुलका सञ्चालक एवम् कार्यक्रम संयोजक अमन तामाङका अनुसार फेस्टलाई केवल मनोरञ्जनमा सीमित नराखी नेपाली कला, संस्कृति, संगीत र नृत्यलाई एउटै मञ्चमा जोड्ने प्रयास गरिएको हो।
“दशैं हाम्रो मौलिक संस्कृति र पारिवारिक जमघटको पर्व हो। यही अवसरमा नयाँ पुस्ताका प्रतिभालाई मञ्च दिने र स्थापित कलाकारमार्फत नेपाली संगीत तथा संस्कृतिलाई दर्शकमाझ पु¥याउने उद्देश्यले दशैं फेस्ट आयोजना गरेका हौं। पहिलो दिन मन्त्र, तृष्णा गुरुङ एण्ड द कोल्याब र टुकीको प्रस्तुति रहने भएकाले दर्शकले फरक–फरक सांगीतिक स्वाद एउटै मञ्चमा अनुभव गर्न पाउनुहुनेछ,” तामाङले भने।
उनका अनुसार कार्यक्रममार्फत पोखरामा सांगीतिक तथा सांस्कृतिक गतिविधिलाई थप चलायमान बनाउने र स्थानीय तथा राष्ट्रिय कलाकारबीचको सम्बन्धलाई समेत बलियो बनाउने लक्ष्य राखिएको छ। “हामीले मनोरञ्जनसँगै नेपाली मौलिक कला र संस्कृतिको संरक्षण, पुस्तान्तरण तथा प्रवद्र्धनलाई पनि प्राथमिकतामा राखेका छौं। नयाँ पुस्ताका प्रतिभाले स्थापित कलाकारसँग एउटै फेस्टमा सहभागी भएर सिक्ने र आफ्नो प्रतिभा प्रस्तुत गर्ने अवसर पाउनेछन्,” तामाङले बताए।
फेस्टको दोस्रो दिन असोज २५ गते विद्यालयस्तरीय राष्ट्रिय लोक सांस्कृतिक नृत्य प्रतियोगिता आयोजना हुनेछ। प्रतियोगितामा देशका विभिन्न स्थानका १८ विद्यालय सहभागी हुनेछन्। सहभागी विद्यार्थीहरूले नेपाली मौलिक लोकसंस्कृति तथा नृत्य प्रस्तुत गर्नेछन्। सोही दिन चर्चित गायक प्रकाश दुतराज एण्ड लाइनअप लोकब्याण्डको विशेष सांगीतिक प्रस्तुति रहने आयोजकले जनाएको छ।

राष्ट्रिय लोक सांस्कृतिक नृत्य प्रतियोगितामा प्रथम हुने समूहले ५५ हजार रुपैयाँ, द्वितीयले ३३ हजार, तृतीयले २२ हजार तथा सान्त्वना हुने समूहले ११ हजार रुपैयाँ नगदसहित प्रमाणपत्र प्राप्त गर्नेछन्। प्रतियोगितामा उत्कृष्ट कोरियोग्राफरलाई समेत ११ हजार रुपैयाँ नगद तथा प्रमाणपत्र प्रदान गरिनेछ।
त्यसैगरी, फेस्टको पहिलो दिन आयोजना हुने डान्सिङ सुपरस्टारमा जम्मा २४ जना प्रतियोगीले प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगितामा प्रथम हुनेले ७७ हजार रुपैयाँ, द्वितीयले ३३ हजार, तृतीयले २२ हजार तथा सान्त्वना हुनेले ११ हजार रुपैयाँ नगदसहित प्रमाणपत्र प्राप्त गर्नेछन्। उत्कृष्ट कोरियोग्राफरलाई पनि ११ हजार रुपैयाँ नगद तथा प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ।
फेस्टको अन्तिम दिन असोज २६ गते विभिन्न स्थानीय ब्याण्ड तथा कलाकारहरूको सांगीतिक प्रस्तुति रहनेछ। तीन दिनसम्म संगीत, नृत्य र सांस्कृतिक प्रस्तुतिले अमरसिंह चौरलाई उत्सवमय बनाउने आयोजकको तयारी छ।
कार्यक्रम संयोजक तामाङले फेस्टमा पोखरेली दर्शकसँगै देशका विभिन्न स्थानबाट आउने संगीत, नृत्य तथा संस्कृतिप्रेमीलाई सहभागी गराउने उद्देश्य रहेको बताए। उनका अनुसार दशैंको अवसरमा पोखरामा हुने यस्तो कार्यक्रमले स्थानीय कलाकारलाई आफ्नो प्रस्तुति दिने अवसर प्रदान गर्नुका साथै बाहिरी क्षेत्रबाट आउने दर्शक तथा पर्यटकलाई समेत आकर्षित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
“पोखरा आफैंमा कला, संगीत र पर्यटनको महत्वपूर्ण केन्द्र हो। दशैंको समयमा यहाँ आउने आन्तरिक पर्यटक र स्थानीय दर्शकलाई लक्षित गरेर सांस्कृतिक तथा सांगीतिक गतिविधिलाई एउटै फेस्टमा समेटेका छौं। यसले पोखराको सांस्कृतिक पहिचानलाई थप उजागर गर्ने विश्वास लिएका छौं,” तामाङले भने।
फेस्टमा सहभागी कलाकार तथा प्रतियोगीको प्रस्तुति व्यवस्थित बनाउन सुरक्षा, कार्यक्रमस्थल व्यवस्थापन, प्राविधिक तयारी तथा अन्य आवश्यक व्यवस्थापनका कामहरू अघि बढिरहेको आयोजकले जनाएको छ। कार्यक्रम अवलोकनका लागि दर्शकले टिकट खरिद गर्नुपर्नेछ।
मिररकिङ्ग इन्टरटेन्मेन्ट प्रालि र बीटुडी डान्स स्कुलले लामो समयदेखि पोखरामा कला, संगीत तथा नृत्यसम्बन्धी गतिविधि सञ्चालन गर्दै आएका छन्। सोही निरन्तरतामा आयोजना हुन लागेको ‘दशैं फेस्ट २०८३’ मार्फत स्थापित कलाकार, स्थानीय कलाकार, विद्यार्थी तथा नयाँ पुस्ताका प्रतिभालाई एउटै मञ्चमा जोड्ने प्रयास गरिएको आयोजकको भनाइ छ।
तीन दिनसम्म सञ्चालन हुने फेस्टको पहिलो दिन मन्त्र, तृष्णा गुरुङ एण्ड द कोल्याब र टुकी, दोस्रो दिन प्रकाश दुतराज एण्ड लाइनअप लोकब्याण्ड तथा विद्यालयस्तरीय लोक सांस्कृतिक नृत्य प्रतियोगिता र अन्तिम दिन स्थानीय ब्याण्ड तथा कलाकारहरूको प्रस्तुतिले दशैंको सांगीतिक माहोललाई थप उत्सवमय बनाउने अपेक्षा गरिएको छ।