काठमाडौं :
निर्देशक तथा अभिनेता माओत्से गुरुङको फिल्म ‘पेन्सन पट्टा’ शुक्रबारदेखि प्रदर्शनको चौथो हप्तामा प्रवेश गरेको छ। चौथो हप्तामा आइपुग्दासमेत फिल्मले पाउँदै आएको शो र दर्शकको उपस्थितिमा उल्लेख्य कमी आएको छैन।
निर्माण पक्षका अनुसार फिल्मले हालसम्म ८ करोड ५० लाख रुपैयाँ ग्रस कलेक्सन गरेको छ। चौथो हप्ताको पहिलो दिन शुक्रबार ‘पेन्सन पट्टा’ले खल्ती एपमा ९२ शो पाएको छ।
निर्माण पक्षले चौथो हप्तामा प्रवेश गरिसकेको फिल्मले नयाँ रिलिज भएका फिल्मको तुलनामा करिब तीन गुणा बढी शो पाउनु नेपाली फिल्मको प्रदर्शन यात्रामा उल्लेख्य उपलब्धि भएको दाबी गरेको छ। नयाँ फिल्महरू लगातार प्रदर्शनमा आइरहे पनि ‘पेन्सन पट्टा’ले आफ्नो शो र दर्शकको उपस्थितिलाई निरन्तरता दिएको निर्माण पक्षको भनाइ छ।

चौथो हप्तामा प्रवेश गरेको अवसरमा फिल्मको सम्पूर्ण टिम शुक्रबार काठमाडौंमा भेला भएर पत्रकारहरूसँग प्रत्यक्ष भेटघाट गरेको छ।मण्डला थिएटरमा आयोजित ‘मीट एन्ड ग्रीट’ तथा पत्रकार भेटघाट कार्यक्रममा फिल्मका कलाकार तथा निर्माण टिमले फिल्मको सफलता, दर्शकको प्रतिक्रिया र निर्माण अनुभवबारे सञ्चारकर्मीसँग कुराकानी गरेका थिए।
रिलिजको चौथो हप्तामा प्रवेश गरेपछि फिल्मको सम्पूर्ण टिम एकसाथ काठमाडौंमा भेला भएर पत्रकारसँग भेटघाट गरेको यो पहिलो कार्यक्रम भएको निर्माण पक्षले जनाएको छ। कार्यक्रममा अभिनेता दयाहाङ राईलाई फिल्म चलाउन कलाकारको स्टारडम महत्वपूर्ण हुन्छ कि कथा भन्ने प्रश्न गरिएको थियो। जवाफमा उनले स्टारडमभन्दा कथा नै बलियो हुने बताए। उनका अनुसार कलाकारलाई स्टार बनाउने आधारसमेत कथा नै हो।
‘कथाले नै कलाकारलाई स्टार बनाउने भएकाले अन्ततः कथा नै बलियो हुन्छ। कथा बलियो भएपछि फिल्म चल्छ। स्टारडमले फिल्मलाई केही हदसम्म सपोर्ट गर्ने मात्र हो,’ दयाहाङले भने। उनको भनाइ ‘पेन्सन पट्टा’को सफलतासँग पनि जोडिएको छ। कलाकारको लोकप्रियतासँगै फिल्मको कथा र प्रस्तुतिले दर्शकलाई हलसम्म ल्याउन महत्वपूर्ण भूमिका खेल्ने उनको धारणा थियो।
भदौ २६ गतेदेखि प्रदर्शनमा आएको ‘पेन्सन पट्टा’ले पहिलो सातादेखि नै दर्शकको साथ पाउँदै आएको छ। दोस्रो र तेस्रो सातामा पनि फिल्मले आफ्नो शो संख्या मजबुत राखेको थियो। चौथो हप्ताको शुक्रबार ९२ शो पाएसँगै फिल्मको प्रदर्शन यात्रा अझै निरन्तर रहने संकेत देखिएको निर्माण पक्षको दाबी छ।