पोखरा,
“अग्रजको अनुभव र युवा पुस्ताको सचेत हस्तक्षेपलाई संश्लेषण गर्दै कास्की काँग्रेसको साख र गरिमा फर्काउनेछु। पार्टीलाई गुट र फुटभन्दा माथि उठाएर विधि, पद्धति र विचारको जगमा बलियो बनाउन कास्की जिल्ला सभापतिमा मेरो दाबी छ।”
नेपाली काँग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत कास्की क्षेत्र नं. २ बाट केन्द्रीय महाधिवेशन प्रतिनिधि (खुल्ला) पदमा अत्यधिक मतका साथ सानदार विजयी भएका बौद्धिक युवा नेता दिनेश आचार्यले अब कास्की काँग्रेसको सर्वोच्च नेतृत्व जिल्ला सभापतिका लागि आफ्नो दाबी अगाडि सारेका छन् । महाधिवेशन प्रतिनिधिमा जित हासिल गरेसँगै उनले पार्टी संगठनमा पुस्तान्तरण, रूपान्तरण र शुद्धीकरणका लागि आफू कास्की काँग्रेसको सभापतिको आकाङ्क्षीका रूपमा प्रस्तुत हुने घोषणा गरेका हुन् ।
नेपाली काँग्रेसका युवा पुस्तामाझ अत्यन्तै अध्ययनशील, तार्किक र वैचारिक नेताका रूपमा चिनिएका दिनेश आचार्य कानुनमा स्नातक गरी पेशाले अधिवक्ता हुन्। अंग्रेजी साहित्यमा स्नातकोत्तर गरेका आचार्य प्राध्यापन पेशासँगै अन्तर्राष्ट्रिय कूटनीतिक सम्बन्ध विषयमा विद्यावारिधि (PhD) गर्दै छन् ।
त्रिभुवन विश्वविद्यालयको केन्द्रीय क्याम्पस कीर्तिपुर तथा नेपाल ल क्याम्पसमा अध्ययन गरेका आचार्यले अमेरिकाको भर्जिनियास्थित विश्वविद्यालयको स्कुल अफ लका विद्यार्थीहरूसँग नेपालको उपभोक्ता अधिकारबारे शैक्षिक प्रस्तुतीकरणसमेत गरिसकेका छन् । साथै, उनले पोखरा महानगरपालिकाको शिक्षा समितिमा विज्ञ समूहको प्रतिनिधिका रूपमा रहेर नेपाल र भारतका विद्यालयहरूको तुलनात्मक अध्ययन एवं शैक्षिक सुधारमा महत्त्वपूर्ण योगदान पुर्याएका छन्।

लोकतान्त्रिक बगैँचामै हुर्किएका कारण उनलमा पार्टीभित्र विधि र पद्धतिको सवालमा हाक्काहाक्की प्रश्न गर्न सक्ने र विचारको राजनीति गर्ने अद्भूत क्षमता छ। उनको राजनीतिक यात्रा वडा तहको जगबाटै आरम्भ भएको हो। १३ औँ महाधिवेशनमा कम्युनिष्ट राजनीतिमा प्रभावशाली नेताहरूको गढ मानिने पोखरा–३३ भरतपोखरीबाट उनी पार्टीको वडा सभापति निर्वाचित भएका थिए ।त्यसपछि कास्की २ (क) को प्रदेश सभापति हुँदै उनले निरन्तर संगठन निर्माण र लोकतान्त्रिक मूल्य मान्यताका लागि संघर्ष गर्दै आएको छन्।
आचार्यको जग र जरा तल्लो तहसम्म मजबुत हुनु, आचरण र छवि अत्यन्तै चहकिलो र निष्कलङ्क हुनु, उच्च बौद्धिकता तथा प्राज्ञिक रुझान हुनु र गुट-फुटभन्दा माथि उठेर सोच्न सक्नु नै उनको सबैभन्दा सबल पक्ष हो। तसर्थ, अग्रजको अनुभव र युवाको ऊर्जालाई समायोजन गर्दै कास्की काँग्रेसलाई नयाँ उचाइ, आशा र ऊर्जा दिनका लागि दिनेश आचार्य एक भरपर्दा, परिपक्व र उम्दा उम्मेदवार हुन् भन्ने कुरामा कस्केली काँग्रेसीजनमाझ कुनै सन्देह छैन।
कास्की काँग्रेसको सभापतिमा आफ्नो दाबी प्रस्तुत गर्दै आचार्यले भने, “राष्ट्रियता, लोकतन्त्र र समाजवादलाई आधार मान्दै पार्टी संगठनलाई व्यक्ति वा गुटकेन्द्रितभन्दा नीति, विधि र संस्थागत प्रक्रियामा आधारित बनाउनुपर्छ। अब पार्टीलाई समयअनुकूल बनाउँदै देशको नेतृत्व गर्ने स्थानमा पुर्याउन हामी युवा नै अगाडि बढ्नुपर्छ। अग्रजको अनुभव र युवा पुस्ताको सचेत हस्तक्षेपको संश्लेषणले नै काँग्रेसको गरिमा बढाउन सकिन्छ।”
पार्टी शुद्धीकरण र निष्ठाको राजनीतिबारे जोड दिँदै उहाँले थप बताए, “व्यक्तिगत लाभहानि हाम्रा लागि गौण हुन्, पार्टीप्रतिको निष्ठा र इमानदारी मुख्य विषय हो। कास्की काँग्रेसमा विधि, पद्धति र विचारको जगमा पुनर्उत्थान गर्ने यो अभियान म जीवनपर्यन्त कायम राख्नेछु।”
विगतका राजनीतिक संघर्ष, अनुभव र बौद्धिक क्षमतालाई जोड्दै अधिवक्ता दिनेश आचार्यले कास्कीका सम्पूर्ण आदरणीय अग्रजहरू, निष्ठावान् कार्यकर्ताहरू, युवा साथीहरू र महाधिवेशन प्रतिनिधिहरूसँग मतसँगै पवित्र विश्वासका लागि विनम्र अपिल गरेका छन् । जिल्ला नेतृत्व सम्हाल्ने अवसर प्राप्त भए कास्की काँग्रेसलाई एकताबद्ध, गतिशील र देशकै नमूना संगठन बनाउने दृढ प्रतिबद्धता उनले व्यक्त गरेका छन् ।