पोखरा,
प्रतिष्ठित व्यावसायिक घराना केसी ग्रुपका निर्देशक तथा युवा उद्यमी किरण केसीले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय कार्यसमिति सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन्।
जलविद्युत्, निर्माण तथा विभिन्न उद्योग–व्यवसायमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका केसीले कांग्रेसलाई समयसापेक्ष र आर्थिक समृद्धिको संवाहक पार्टीका रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
केसीले पार्टीलाई परम्परागत कार्यशैलीबाट मुक्त गर्दै प्रविधिमैत्री, पारदर्शी र युवाको भरोसायोग्य संगठन बनाउनुपर्नेमा जोड दिएका छन्। उनका अनुसार पार्टीभित्र पुरानो पुस्ताको अनुभव र नयाँ पुस्ताको ऊर्जा तथा विचारबीच सार्थक समन्वय आवश्यक छ।

राजनीतिलाई मुलुकको आर्थिक रूपान्तरण र सुशासनसँग जोड्ने लक्ष्यसहित उम्मेदवारी घोषणा गरेका केसीले निजी क्षेत्रको अनुभवलाई नीति निर्माणमा उपयोग गर्ने बताएका छन्। स्वदेशमै रोजगारीका अवसर विस्तार गर्ने, युवालाई उद्यमशीलतासँग जोड्ने तथा लगानीमैत्री वातावरण निर्माणका लागि व्यावहारिक नीति आवश्यक रहेको उनको धारणा छ।
त्यस्तै, कांग्रेसको निर्णय प्रक्रियालाई पारदर्शी र प्रविधिमैत्री बनाउँदै तल्लो तहका कार्यकर्ताप्रति पार्टी नेतृत्वलाई थप उत्तरदायी बनाउने प्रतिबद्धता पनि केसीले व्यक्त गरेका छन्। नीति निर्माणको तहमा नयाँ पुस्ताको विचार र नेतृत्वलाई स्थापित गर्न आफूले भूमिका निर्वाह गर्ने उनको भनाइ छ।
व्यावसायिक क्षेत्रमा सक्रिय केसीले आफ्नो अनुभवलाई राजनीतिक नेतृत्व र नीतिनिर्माणसँग जोडेर आर्थिक विकास, रोजगारी सिर्जना र उद्यमशीलता प्रवर्द्धनलाई प्राथमिकतामा राख्ने बताएका छन्।
कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय कार्यसमिति सदस्यका लागि उनको उम्मेदवारीसँगै पार्टीभित्र नयाँ पुस्ताको सहभागिता, निजी क्षेत्रको अनुभव र आर्थिक एजेन्डाबारे बहस थप हुने देखिएको छ।