दुलेगौंडा,
सामाजिक सेवा र मानवीय सहयोगको उद्देश्यसहित आयोजना हुन लागेको चर्चित नेपथ्य ब्याण्डको लाइभ कन्सर्टको तयारी तीव्र पारिएको छ। लायन्स क्लब अफ शुक्लागण्डकीको आयोजनामा आगामी मंसिर १२ गते शनिबार शुक्लागण्डकी नगरपालिका–५, बेलचौतारास्थित भानुभक्त बहुमुखी क्याम्पसको खेलकुद मैदानमा कन्सर्ट आयोजना हुँदैछ।
कन्सर्टको तयारीस्वरूप स्थापना गरिएको सचिवालयको उद्घाटन बुधबार एक समारोहबीच गरिएको छ। लायन्स इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ एम नेपालका फर्स्ट भाइस डिस्ट्रिक्ट गभर्नर लायन किशोर बरालले रिबन काटेर सचिवालयको उद्घाटन गरेका हुन्।
सचिवालय उद्घाटन कार्यक्रममा शुक्लागण्डकी नगरपालिकाका उपप्रमुख तथा लायन्स क्लब अफ शुक्लागण्डकीकी डाइरेक्टर एवं कन्सर्ट संयोजक खुमबहादुर विक, पीडीजी लायन चण्डीप्रसाद अर्याल, क्लबका सेक्रेटरी लायन विकास भुर्तेल, अध्यक्ष लायन देवेन्द्र ढुङ्गानालगायत डिस्ट्रिक्ट तथा क्लबका विभिन्न लायन्स लिडरहरूको उपस्थिति थियो।

लायन्स क्लबको नेतृत्वमा आयोजना हुन लागेको यस बृहत् सांगीतिक कार्यक्रमले मनोरञ्जनसँगै सामाजिक उत्तरदायित्व र मानवीय सेवाको सन्देश प्रवाह गर्ने आयोजकको विश्वास छ। कन्सर्टका लागि टिकट बुकिङ तथा बिक्री काउन्टरसमेत सञ्चालनमा आइसकेको आयोजकले जनाएको छ।

कन्सर्टबाट प्राप्त आम्दानीमध्ये कार्यक्रमको खर्च कटाएर बचत हुने रकमलाई सामाजिक तथा मानवीय सेवाका विभिन्न क्षेत्रमा परिचालन गरिने आयोजकले जनाएको छ। विशेषगरी विद्यालय तथा शिक्षा क्षेत्रमा सहयोग पुर्याउने योजना रहेको आयोजकको भनाइ छ। यसमार्फत लायन्स इन्टरनेसनलको मूल भावना ‘We Serve’ लाई मनोरञ्जनसँग जोड्दै समुदायमा सेवाको सन्देश प्रवाह गर्ने प्रयास गरिएको हो।
सचिवालय उद्घाटन कार्यक्रममा प्रमुख अतिथि लायन किशोर बरालले लायन्स क्लब अफ शुक्लागण्डकीले डिस्ट्रिक्ट ३२५ एम नेपालअन्तर्गत यति ठूलो सांगीतिक कार्यक्रम आयोजना गर्नु गौरवको विषय भएको बताए।
उनले लायन्स क्लबले सेवा र सामाजिक उत्तरदायित्वलाई आफ्नो मूल आधार बनाउँदै आएको उल्लेख गर्दै मनोरञ्जनका माध्यमबाट समुदायलाई जोडेर त्यसबाट प्राप्त बचत रकम शिक्षा, मानवीय सेवा तथा सामाजिक क्षेत्रमा लगानी गर्ने अभियान प्रशंसनीय र अनुकरणीय रहेको बताए।
बरालले कन्सर्ट सफलताको शुभकामना दिँदै कार्यक्रमलाई भव्य, सभ्य र व्यवस्थित रूपमा सम्पन्न गर्न आयोजक क्लब तथा सहयोगी सबैलाई आग्रह गरे।
नेपथ्य ब्याण्डको सशक्त लाइभ प्रस्तुति रहने कन्सर्टले शुक्लागण्डकी क्षेत्रलाई सांगीतिक उत्साहले तताउने मात्र नभई सेवा, सहयोग र सामाजिक उत्तरदायित्वको सन्देशसमेत प्रवाह गर्ने अपेक्षा गरिएको छ।
लायन्स इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ एम नेपालअन्तर्गत आयोजना हुन लागेको कार्यक्रमलाई ‘मनोरञ्जनसँगै सेवा’ को अवधारणालाई व्यवहारमा उतार्ने महत्वपूर्ण पहलका रूपमा लिइएको छ। कन्सर्टबाट प्राप्त बचत रकम सामाजिक तथा मानवीय सेवामा परिचालन गर्ने उद्देश्यले कार्यक्रमलाई सफल बनाउन आयोजकले सबैको सहयोग र सहभागिताको अपेक्षा गरेको छ।
We Serve – हामी सेवा गर्छौं।