सुचना, समाचार र मनोरन्जन

‘मिस ग्ल्याम वर्ल्ड नेपाल २०२६’ को अडिसन सम्पन्न

काठमाडौं :
राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस ग्ल्याम वर्ल्ड नेपाल–२०२६’ को अडिसन काठमाडौंको नयाँ वानेश्वरस्थित इन्द्रेणी सुइट्समा भव्यपूर्वक सम्पन्न भएको छ।  क्रिएटिभ इन्स्टिच्युट अफ फेसन टेक्नोलोजी (सिआईएफटी) को आयोजनामा भएको अडिसनमा १६ देखि ३२ वर्ष उमेर समूहका युवतीहरुको उल्लेख्य सहभागिता रहेको आयोजक संस्थाले जनाएको छ।
Chaka Panja

प्रतियोगिताका लागि एक महिनाअघि नै आवेदन फर्म खुला गरिएको थियो।अडिसनमा मिस नेपाल २००० उषा खड्गी, अन्तर्राष्ट्रियस्तरका कोरियोग्राफर रोजिन शाक्य, कलाकर्मी डटकमकी समाचार सम्पादक अरुणा भट्टराई तथा आयोजक संस्था सिआईएफटीकी प्रमुख सुचिता सची निर्णायकको रुपमा रहेको थिए।

अडिसनबाट छनोट हुने २५ जना प्रतिस्पर्धीलाई कोरियोग्राफर रोजिन शाक्यको नेतृत्वमा प्रशिक्षण दिइने छ । प्रतियोगिताको ग्राण्ड फिनाले भने आगामी मंसिर ५ गते ललितपुरको पुल्चोकस्थित द प्लाजामा आयोजना हुनेछ ।

सिआईएफटीकी प्रमुख सुचिता सचीका अनुसार प्रतियोगिताले फेसन र सौन्दर्यसँगै व्यक्तित्व, आत्मविश्वास, नेतृत्व क्षमता, प्रतिभा, प्रस्तुति शैली तथा सामाजिक चेतनालाई समेत प्राथमिकतामा राखिएको थियो ।

‘प्रतियोगिताको उद्देश्य बाह्य सौन्दर्यलाई मात्र आधार बनाएर विजेता छनोट गर्नु होइन । व्यक्तित्व, आत्मविश्वास, नेतृत्व क्षमता, प्रतिभा र सामाजिक चेतनालगायतका पक्षलाई पनि मूल्यांकन गरिने छ’, सचीले बताइन् ।

सिआईएफटीले ‘मिस ग्ल्याम वर्ल्ड नेपाल–२०२६’ मार्फत विभिन्न उमेर समूहका प्रतियोगीलाई समेट्दै तीन अन्तर्राष्ट्रिय उपाधिका लागि नेपाली प्रतिनिधि छनोट गर्ने जनाएको छ। आयोजकका अनुसार एउटै राष्ट्रिय मञ्चबाट ‘मिस ग्ल्याम युनिभर्स नेपाल’,‘मिस ग्ल्याम वर्ल्ड नेपाल’ तथा ‘मिस टिन ग्ल्याम वर्ल्ड नेपाल’ का लागि योग्य प्रतियोगी छनोट गरिँदैछ।

‘मिस ग्ल्याम वर्ल्ड नेपाल–२०२६’ की विजेताले अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस ग्ल्याम वर्ल्ड २०२६’ मा नेपालको आधिकारिक प्रतिनिधित्व गर्नेछिन्। आयोजकका अनुसार ‘मिस ग्ल्याम वर्ल्ड २०२६’ भारतमा सन् २०२६ को अन्त्यतिर आयोजना गर्ने तयारी भइरहेको छ।

सिआईएफटीले फेसन तथा सौन्दर्य क्षेत्रमा रुचि राख्ने युवतीका लागि आफ्नो प्रतिभा प्रस्तुत गर्नुका साथै भविष्यमा यस क्षेत्रमा व्यावसायिक अवसर खोज्न प्रतियोगिताले प्लेटफर्म प्रदान गरेको जनाएको छ । कलाकर्मी ‘मिस ग्ल्याम वर्ल्ड नेपाल–२०२६’ को अफिसियल मिडिया पार्टनर हो ।

तस्विरहरुः किशोर श्रेष्ठ/ड्रिम भिजन स्टुडियो

Leave A Reply

Your email address will not be published.