काठमाडौं :
आगामी फिल्म ‘आ बाट आमा २’को नयाँ डान्सिङ गीत ‘रातो टीका लाउदा क्या दामी देखियो’ बिहीबार युट्युब मार्फत सार्वजनिक गरिएको छ। फिल्मको प्रचारप्रसार स्वरूप निर्माण टिमले दसैंको माहोल र टीका-जमराको कथा समेटिएको यो गीत रिलिज गरेको हो।
गीतको आकर्षक भिडियोमा सामुहिक विवाहको दृश्यका बीच मुख्य कलाकारहरू पल शाह, मलिका महत, आकाश श्रेष्ठ, साइग्रेस पोखरेल, रिश्ता गुरुङ र निकिता आचार्य लगायत सामूहिक नृत्यमा रमाइरहेको देख्न सकिन्छ। त्यसैगरी, भिडियोमा अभिनेता सबिन श्रेष्ठ लाहुरेको भूमिकामा फिचर छन्।

बाबुल गिरीको शब्द रचना तथा संगीत रहेको यस गीतमा बाबुल गिरी र रचना रिमालले स्वर दिएका छन्। गम्भीर बिष्टको कोरियोग्राफी रहेको यो गीतको भिडियो दृश्य आकर्षक बनेको छ।
चन्द्र पन्तको कथा, पटकथा तथा निर्देशनमा बनेको यस फिल्ममा पल शाह, मलिका महत, बिपना थापा, आकाश श्रेष्ठ, सबिन श्रेष्ठ, रिश्ता गुरुङ, निकिता आचार्य, साइग्रेस पोखरेल, प्रदीप रावत, गजित विष्ट, नरेन खड्का र दिलिप अखेडा लगायतका कलाकारहरूको मुख्य अभिनय रहेको छ।
फिल्मको लेखन तथा संवाद रोशन भट्ट र चन्द्र पन्तले तयार पारेका हुन्। नवराज उप्रेतीको छायाङ्कन, साहिल खान र मिलन श्रेष्ठको सम्पादन तथा करण सिंहको प्रोडक्सन एक्जिक्युटिभ रहेको यस फिल्मको डिजिटल पार्टनर ओएसआर डिजिटल हो भने वितरणको जिम्मा आरआर फिल्मस्ले लिएको छ।