सुचना, समाचार र मनोरन्जन

पोखराको लेकसाइडमा ‘मिरक्याट पार्क’ सञ्चालनमा: खाना, खेल, संगीत र समुदाय जोड्ने साझा थलो

पोखरा,

पर्यटकीय राजधानी पोखराको लेकसाइडमा खाना, कफी, खेलकुद, संगीत र सिर्जनशील गतिविधिलाई एउटै स्थानमा जोड्ने उद्देश्यसहित ‘मिरक्याट पार्क’ आइतबार घटस्थापनादेखि सञ्चालनमा आएको छ। लेकसाइडको स्ट्रिट नम्बर १७ मा रहेको मिरक्याट पार्कलाई स्थानीय समुदाय, पर्यटक, उद्यमी र सिर्जनशील व्यक्तिहरू भेटघाट गर्ने साझा थलोका रूपमा विकास गरिएको हो।

पोखराबाट सुरु भएको मिरक्याट इन नेपालको केन्द्रका रूपमा विकास गरिएको पार्कमा खानपान, कफी, वेलनेस, खेलकुद, गेमिङ, संगीत, कार्यशाला तथा विभिन्न सामुदायिक कार्यक्रमका लागि आवश्यक सुविधा उपलब्ध छन्। फरक–फरक रुचि र पृष्ठभूमिका मानिसलाई एकै ठाउँमा जोड्ने अवधारणासहित पार्क सञ्चालनमा ल्याइएको सञ्चालक सागर भट्टराईले जानकारी दिए।

मिरक्याटको मूल अवधारणा ‘मिट, मुभ, मिरक्याट’ अर्थात् भेटघाट, गतिविधि र नयाँ अनुभवको आदानप्रदानमा आधारित छ। यसअघि डिजिटल एपका रूपमा अघि बढाइएको अवधारणालाई भौतिक रूपमा कार्यान्वयन गर्दै मिरक्याट पार्क स्थापना गरिएको भट्टराईले बताए।

पार्कमा विभिन्न व्यवसाय तथा उद्यमीले आफ्ना उत्पादन, सेवा र अनुभव प्रस्तुत गर्ने अवसर पाएका छन्। पोखरा रोस्ट्री कफीले कफी तथा स्थानीय संस्कृतिसँग जोडिएका अनुभव प्रदान गर्नुका साथै कफीसम्बन्धी कक्षा सञ्चालन गर्छ। लावण्य वेलनेसले वेलनेससम्बन्धी सेवा उपलब्ध गराएको छ भने पोराले रोटिसेरी चिकेन तथा स्प्यार्ड बार्बेक्युका परिकार उपलब्ध गराउँछ। त्यस्तै, उमामी मार्टमा कोरियन स्न्याक्स तथा विभिन्न उत्पादन पाइन्छन्।

Chaka Panja

प्रकृति, वन्यजन्तु र अनुसन्धानमा रुचि राख्नेहरूका लागि नेसनल जियोग्राफिक एक्सप्लोरर रोहित गिरीको भेटघाट केन्द्रसमेत पार्कमा रहेको छ। यसले प्रकृति र अनुसन्धानसम्बन्धी रुचि भएका व्यक्तिबीच भेटघाट तथा छलफलको अवसर सिर्जना गर्ने अपेक्षा गरिएको छ।

संगीत तथा सिर्जनशील गतिविधिका लागि ब्यान्डम जाम, खेलकुद र सामाजिक अन्तरक्रियाका लागि डिङ्कहाउस पिकलबल तथा गेमिङका लागि मिनी आर्केड हब सञ्चालनमा छन्। यसका अतिरिक्त योग, कार्यशाला, पोडकास्ट र विभिन्न सामुदायिक जमघटका लागि बहुउद्देश्यीय हलको व्यवस्था गरिएको छ।

मिरक्याट पार्क परिसरमा छवटा भवनमा विभिन्न पसल तथा व्यवसाय सञ्चालनमा छन्। खेलकुदका गतिविधिसँगै विभिन्न कार्यक्रम आयोजना गर्न सकिने व्यवस्था रहेको पार्कमा करिब ५० जना अट्ने क्षमताको हलसमेत उपलब्ध छ।

मिरक्याट पार्कसँगै मिरक्याट डिजिटल प्लेटफर्म पनि सञ्चालनमा रहेको छ। उक्त प्लेटफर्मले नेपाल आउने विदेशी पर्यटक, ब्याकप्याकर, डिजिटल नोमाड, स्थानीय बासिन्दा, गाइड, होस्ट, उद्यमी, सामग्री निर्माता तथा पर्यटन व्यवसायलाई जोड्ने लक्ष्य राखेको छ। प्लेटफर्ममा ट्रेकिङ तथा साहसिक गतिविधि, कार्यक्रम, स्वयंसेवा, गाइड तथा होस्टसँगको सम्पर्क, सामुदायिक सूचना र स्थानीय सिफारिसजस्ता सुविधा समेटिएका छन्।

मिरक्याट पार्कलाई सामान्य व्यावसायिक कम्प्लेक्समा मात्र सीमित नराखी मानिसले नयाँ व्यक्तिसँग परिचित हुने, रुचि आदानप्रदान गर्ने र विभिन्न गतिविधिमा सहभागी हुने साझा थलोका रूपमा विकास गर्न खोजिएको सञ्चालक भट्टराईको भनाइ छ।

पर्यटन, स्थानीय उद्यमशीलता र सामुदायिक गतिविधिलाई एउटै स्थानमा जोड्ने प्रयासका रूपमा मिरक्याट पार्कले पोखराको लेकसाइडमा पर्यटक तथा स्थानीय बासिन्दाका लागि नयाँ अनुभवको अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।

Leave A Reply

Your email address will not be published.