पोखरा,
सारंगीका तारसँगै जब समाजका सुखदुःख, विपत्ति र विछोडका कथा गीत बनेर गुञ्जिन्छन्, तब संगीत मनोरञ्जनमा मात्र सीमित रहँदैन, इतिहास र जनजीवनको साक्षी पनि बन्छ। पोखरामा आयोजित विशेष सांगीतिक कार्यक्रम ‘गन्धर्व गुञ्जन’मा गन्धर्व कलाकारले घटना गीत, मौलिक लोकधुन, परम्परागत नृत्य र सांगीतिक संवादमार्फत यही सांस्कृतिक विरासतलाई जीवन्त बनाए। कार्यक्रममा पुरानो पुस्ताको अनुभवदेखि नयाँ पुस्ताको प्रस्तुतिसम्म समेटिँदा गन्धर्व संस्कृतिको संरक्षण र पुस्तान्तरणको महत्त्वसमेत उजागर भयो।

पोखरा प्रज्ञा प्रतिष्ठानको आयोजनामा आइतबार पोखरा उद्योग वाणिज्य संघको सभाहलमा सम्पन्न कार्यक्रममा हेम्जाका सम्मरबहादुर गायकले गत भदौ १० गतेको भोटेकोशी बाढीको घटनालाई आफ्नै शब्दमा गीतमार्फत प्रस्तुत गरे। बाढीले निम्त्याएको विनाश, जनधनको क्षति र आफन्त गुमाउनुको पीडालाई सारंगीको धुनमा उनेर उनले सुनाउँदा उपस्थित दर्शक भावुक बने। उनले गोरखाको बूढीगण्डकी बाढीको घटनालाई पनि स्मरण गर्दै झलकमान गन्धर्वको कालजयी गीत ‘हे बरै…’ प्रस्तुत गरे।
रेडियो, पत्रपत्रिका, टेलिफोन र सामाजिक सञ्जालको पहुँच नहुँदाका समयमा गन्धर्व कलाकार गाउँगाउँ पुगेर गीतमार्फत समाचार सुनाउँथे। युद्ध, प्राकृतिक विपत्ति, हत्या, दुर्घटना, बसाइँसराइ, सामाजिक अन्याय, प्रेम, विछोड र वीरताका घटनालाई गीतमा उनेर चोकचौतारीमा सुनाउने उनीहरूको परम्पराले समाजको सूचना र इतिहासलाई मौखिक रूपमा पुस्तान्तरण गर्दै आएको थियो। कार्यक्रममा प्रस्तुत घटना गीतले त्यही ऐतिहासिक भूमिकालाई पुनः स्मरण गराएको थियो।
कार्यक्रमको पहिलो सत्रमा पत्रकार दीपेन्द्र श्रेष्ठले गन्धर्व कलाकार हर्क गायक, जानुका गायक र गोविन्द गायकसँग संवाद गरे। उनीहरूसँग सारंगी सिक्ने र बजाउने यात्रा, गायनसँग जोडिएका अनुभव र स्मृति, गन्धर्व समुदायको बदलिँदो जीवनशैली तथा मौलिक सांगीतिक परम्परालाई निरन्तरता दिन भइरहेका प्रयासबारे कुराकानी गरिएको थियो।
दोस्रो सत्रमा हेम्जाका गन्धर्व बाल कलाकारको मंगलधुन र भजनसँगै सांगीतिक प्रस्तुति सुरु भयो। ‘यो दाजुको मिर्मिरे आँखा…’ गीतका सर्जक धनबहादुर गायकका छोरा दिलिप गायक र छोरी रञ्जना गन्धर्वले उक्त गीत गाएर बुबालाई सम्झिए। हेम्जाका गोविन्द गायकले लोपोन्मुख ‘निर्गुण’ प्रस्तुत गरे भने बाटुलेचौरस्थित झलकमान गन्धर्व संगीत पाठशालाका बाल कलाकारले मालश्री र विवाहको मंगलधुन सुनाए।


जानुका गायक र बलराम गन्धर्वको जोडीले झलकमान गन्धर्वकै अर्को चर्चित गीत ‘अल्लारे नानी केशी…’ प्रस्तुत गर्यो। बाटुलेचौरका गन्धर्व महिलाको समूहले रत्यौलीमार्फत मौलिक संस्कृतिको झल्को दिँदै दर्शकलाई नचायो। बाटुलेचौर र हेम्जाका नयाँ पुस्ताका कलाकार सुनील गायक र समीर गायकले लोकगीत प्रस्तुत गरे। यी प्रस्तुतिले गन्धर्व संस्कृतिको निरन्तरता र नयाँ पुस्ताको सहभागितालाई मञ्चमा उतारे।
‘रेलको ढोका बन…’, ‘बाटो छ भिरालो…’ र ‘जिरा मरिच…’ जस्ता चर्चित गीतका सर्जक तथा गायक कृष्ण गन्धर्व र अतिथि कलाकार हेमन्त कान्छा रसाइलीको प्रस्तुतिले कार्यक्रमलाई थप उत्साहपूर्ण बनायो। उनीहरूको गीतमा दर्शक छमछमी नाचे। बडहरेको तरबार नृत्यले दर्शकको ध्यान खिच्यो भने तल्लो गगनगौंडाका गन्धर्व कलाकारको समूहले आफ्नै गीत प्रस्तुत गर्यो। घटना गीतदेखि लोकनृत्यसम्मका प्रस्तुतिले गन्धर्व समुदायको सांगीतिक विविधता उजागर गरे।

कार्यक्रम उद्घाटन गर्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखराका गन्धर्वको गौरवपूर्ण सांगीतिक परम्पराको सम्मान, संरक्षण र पुस्तान्तरण गर्ने उद्देश्यले ‘गन्धर्व गुञ्जन’ आयोजना गरिएको बताए। संस्कृति विगतको सम्झना मात्र नभई वर्तमानको पहिचान र भविष्यलाई हस्तान्तरण गरिने सम्पदा पनि भएको उल्लेख गर्दै उनले अग्रज पुस्तासँग रहेका कला, सीप र अनुभव नयाँ पुस्तासम्म पुर्याउनु आजको आवश्यकता भएको बताए। कार्यक्रमले अग्रजको अनुभव र नयाँ पुस्ताको उत्साहलाई एउटै मञ्चमा जोड्ने प्रयास गरेको उनको भनाइ थियो।
पोखरा प्रज्ञा प्रतिष्ठानकी कुलपति सरस्वती प्रतीक्षाले गन्धर्व संस्कृतिलाई विगतको सम्झनामा मात्र सीमित राख्नु पर्याप्त नहुने बताइन्। यही सोचका साथ कार्यक्रमको परिकल्पना गरिएको उल्लेख गर्दै उनले सारंगीको धुन जोगाउनु नेपालको मौलिक बाजाको आवाज जोगाउनु भएको बताइन्। गन्धर्व समुदायको सम्मान गर्नु नेपाली इतिहास, लोकज्ञान र सांस्कृतिक आत्माको सम्मान गर्नु भएको उनको भनाइ थियो।

‘गन्धर्व गुञ्जन’ले समसामयिक घटनालाई गीतमार्फत अभिव्यक्त गर्ने गन्धर्व परम्परादेखि लोपोन्मुख गायन शैली, परम्परागत धुन, लोकगीत र नृत्यसम्मलाई एउटै मञ्चमा समेटेको छ। अग्रज कलाकारका अनुभव, परिवारभित्र पुस्तान्तरण भएका गीत र बाल कलाकारको सहभागिताले गन्धर्व संस्कृतिलाई संरक्षण गर्नुका साथै त्यसलाई भावी पुस्तासम्म पुर्याउने आवश्यकतालाई उजागर गरेको छ।
