काठमाडौँ :
नेपालीहरूको महान् पर्व बडादसैँको आगमनसँगै सांगीतिक क्षेत्रमा दसैँका भाकाहरूको रौनक बढेको छ। यसै क्रममा वरिष्ठ गीतकार डा. कृष्णहरि बरालको शब्द र चर्चित संगीतकार महेश खड्काको संगीतमा तयार पारिएको दसैँ विशेष गीत ‘दसैँ आयो’ शुक्रबार सार्वजनिक भएको छ।

पछिल्लो समयकी लोकप्रिय गायिका अनु चौधरी र गायक हसन राईको सुमधुर स्वर रहेको उक्त गीतमा सुनिल राईको एरेन्ज रहेको छ। नेपाली गीत-सङ्गीतको प्रवर्द्धन, भिडियो उत्पादन तथा वितरणमा सक्रिय ‘लुङ्गटो क्रिएसन’को आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको यस भिडियोमा कलाकार लक्ष्मी बर्देवा र प्रभातपाल ठकुरीको अभिनय देख्न सकिन्छ।
गायक हसन राईले यसअघि करिब एक महिना अघि मात्र आफ्नै जिल्लाबासी संगीतकार महेश खड्कासँगको सहकार्यमा ‘खोर्सानी खायो मैनाले’ बोलको गीत बजारमा ल्याएका थिए। उनका ‘त्यो बुट्टे झोली’, ‘मखमली चोली’, ‘आँखैमा लाउनु पर्दैन’, ‘पैसा कि बैस’, ‘यी आँखालाई’ लगायत दर्जनौँ गीतहरू निकै लोकप्रिय छन्। सार्वजनिक भएसँगै यस गीतले पनि सामाजिक सञ्जाल तथा विभिन्न डिजिटल संगीत प्लेटफर्ममा राम्रो चर्चा र प्रतिक्रिया बटुलिरहेको जानकारी गायक राईले दिएका छन्।