काठमाडौं :
सनराइज पिक्चर्स प्रालीको ब्यानरमा निर्माण भएको फिल्म ‘बाटुलो जून्’मा समावेश गीत ‘मेरो मन चोर्यौ सुटुक्कै’ युट्यूव भिडियो ट्रेण्डिङतर्फ नेपालमा पहिलो नम्बरमा आएको छ। बडा दशैंको घटस्थापनाको दिन सार्वजनिक भएको गीतको भिडियोले ‘युट्यूव वर्ल्ड टप’ अन्तर्गत नेपालमा शीर्ष स्थान ओगट्न सफल भएको हो।

२ दिनमा ५ लाखबढि पटक हेरिएको गीतको भ्यूजलाई फिल्म निर्माण युनिटले अर्गानिक भनेको छ। ‘केहि दिन पहिले सार्वजनिक टिजरमा पनि यहि प्रकारले दर्शक इन्गेज भएका थिए, गीतमा पनि विशुद्ध अर्गानिक भ्यूज मिलेको छ, यो नै नेपाली फिल्मको विशुद्ध भ्यूज हो’,निर्माण टिमको दाबी छ।समग्र भिडियो ट्रेण्डिङतर्फ गीतले पहिलो स्थान कब्जा गर्दा ‘बाटुलो जून’को टिजर युट्यूवको मुभी चार्टतर्फ शीर्ष स्थानमै छ। कार्तिक २६ मा प्रदर्शनमा आउने फिल्मका सुरुवाती प्रचार सामग्रीमा नै दर्शकको झुकावले फिल्म प्रतिक्षित बन्दै गएको देखिन्छ।
गीतमा प्रमुख अभिनेता अनमोल केसी र डेब्यू अभिनेत्री प्रिन्सी खतिवडा फिचर्ड छन्। पुरानो नेपाली समाजको संरचना समेटेर तयार पारिएको भिडियोमा कलाकारहरूले पनि प्रशंसनीय अभिनय पस्केका छन्। अनमोलसँगै प्रिन्सीको प्रस्तुतीले दर्शक तथा फिल्म शुभचिन्तकहरूबाट चर्चा र तारिफ पाइरहेको छ।सामीप्यराज तिमल्सेना र सरिन पोखरेलको लेखन रहेको ‘बाटुलो जून’लाई जिया केसी र भविष्य खड्काले निर्माण गरेका हुन् । विवेक थापा फिल्मका सह-निर्माता रहेका छन् ।