पोखरा/
मानिसले आफ्नो दैनिक कार्यतालिकामा दौडलाई समावेश गर्न सके स्वस्थ जीवन बाँच्न सकिने र रोगका कारण हुने आर्थिक, मानसिक तथा शारीरिक तनावबाट जोगिन सकिने सन्देश दिने उद्देश्यका साथ पोखरामा १० किलोमिटर खुल्ला दौड प्रतियोगिता आयोजना हुने भएको छ ।
जनप्रिय बहुमुखी क्याम्पसको मुख्य आयोजना तथा एनवाइसी रत्नचोकको सह–आयोजनामा आगामी असोज ३१ गते शनिबार बिहान ६ः०० बजे उक्त प्रतियोगिता सञ्चालन हुन लागेको हो ।

आयोजकका अनुसार प्रतियोगिता रत्नचोकबाट सुरु भई सिर्जनाचोक, जिरो कि.मी., हल्लनचोक, खहरे, लेकफुड ट्रेक, बाराही मन्दिर, सहिदचोक, राष्ट्र बैङ्कचोक, ड्यामसाइड, बिरौटा, मुस्ताङचोक र हर्कसिंह चोक हुँदै जनप्रिय बहुमुखी क्याम्पसमा पुगेर समापन हुनेछ ।

प्रतियोगिता सञ्चालनपछि बचत हुन आउने रकम एनवाइसीका युवाहरूले स्थानीय टोल विकासका साथै जनप्रिय बहुमुखी क्याम्पसमा अध्ययनरत विपन्न तथा जेहेन्दार विद्यार्थीहरूको छात्रवृत्तिमा खर्च गर्ने क्याम्पस प्रमुख कृष्णबाबु बरालले जानकारी दिए ।
प्रतियोगिताका लागि हालसम्म ४५० जना महिला तथा पुरुष प्रतिस्पर्धीहरूले नाम दर्ता गराइसकेका छन् । प्रतियोगितामा महिला र पुरुष दुवैतर्फ प्रथम, द्वितीय र तृतीय हुने विजयी धावकहरूलाई क्रमशः रु १०,०००, रु ७,००० र रु ५,००० नगद पुरस्कार, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ । यसका साथै निर्धारित दूरी सफलतापूर्वक पूरा गर्ने सबै धावकहरूलाई मेडल प्रदान गरिने जानकारी एनवाइसीका अध्यक्ष आशिक गुरुङले जनाए ।
स्थानीय शिक्षाप्रेमी, समाजसेवी र सङ्घसंस्थाहरूको योगदानमा स्थापित गैरनाफामूलक शैक्षिक संस्था जनप्रिय बहुमुखी क्याम्पस र स्थानीय युवाहरूद्वारा गठित एनवाइसी रत्नचोकबिच १० वर्षअघि सहकार्यको सम्झौता भएको थियो ।
उक्त सम्झौतापश्चात् एनवाइसीले हालसम्म क्याम्पसका २५ जना स्नातक तहका विद्यार्थीहरूलाई अध्ययनका लागि छात्रवृत्ति प्रदान गरिसकेको छ । दुवै संस्थाको संयुक्त प्रयासमा विमानस्थल र रत्नचोक क्षेत्रका विभिन्न टोलहरूमा निरन्तर रूपमा सामाजिक तथा रचनात्मक कार्यक्रमहरू सञ्चालन हुँदै आएको सहायक प्रशासक महादेवकुमार पालिखेले जानकारी दिए ।