काठमाडौँ :
अभिनेता पुष्प खड्का फिल्म ‘एक्का तीन’बाट बाहिरिएपछि एक्सन अवतारका लागि परिचित नायक सुशील श्रेष्ठ अनुबन्धित भएका छन्। उनलाई निर्माण पक्षले सोमबार फिल्मका लागि अनुबन्ध गरेको हो।

रुपेश तामाङको निर्देशनमा बन्ने यो फिल्मका लागि सुशीलले निर्माणपक्षसँग औपचारिक कागजी सम्झौता गरिसकेका छन्। सुशीलले मंसिरको पहिलो साताबाट यो फिल्मलाई आफ्नो समय दिनेछन्। नेपाली फिल्म क्षेत्रमा एक्सन नायकको रूपमा बलियो छवि बनाएका सुशीलको यो प्रोजेक्टमा भएको प्रवेशले फिल्मको कलाकार लाइनअपलाई अझ शक्तिशाली बनाएको छ। यतिबेला सुशील फिल्म ‘साम्राज्य’को छायांकनमा व्यस्त रहेका छन्।
फिल्ममा यसअघि नै नायिका पूजा शर्मा र कविता नेपाली अनुबन्धित भइसकेका छन्। सुशील, पूजा र कविताको यो त्रीपक्षीय लाइनअपले फिल्ममा दमदार एक्सन र थ्रिलर रहने संकेत गरेको छ। तर, यतिबेला फिल्मकर्मी र दर्शकमाझ मुख्य कौतुहल बनेको छ— सुशीलको जोडीको रूपमा पूजा शर्मा वा कविता नेपालीसँग कसको रोमान्स जम्लारु निर्माणपक्षले हालसम्म यो विषयमा गोपनीयता कायम राखेको छ र कसले कसको जोडीको रूपमा काम गर्ने भन्ने खुलाइएको छैन। सुमन गजमेरको कथा रहेको यस फिल्मलाई जुना फिल्मस्ले निर्माण गर्न लागेको हो। पूजा शर्मा पछिल्लो समय आफ्नै व्यानरमा ‘रत्यौली’निर्माण गरिरहेकी छन्।