सुचना, समाचार र मनोरन्जन

हिमाल आरोहणको उत्साहः ७६ देशका १४ सय ९३ आरोहीद्वारा अनुमति

करिब ३२ करोड ३७ लाख रोयल्टी संकलन

काठमाडौं,

चालू वर्षको शरद ऋतुमा नेपालका हिमाल आरोहणका लागि पर्वतारोहीहरूको उल्लेख्य आकर्षण देखिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभागबाट प्राप्त आधिकारिक तथ्यांकअनुसार यस सिजनमा विश्वका विभिन्न देशबाट आएका आरोहीहरूले हिमाल आरोहणका लागि अनुमति लिएका छन् ।

कार्तिक १२ गतेसम्मको तथ्याङ्क हेर्दा यस सिजनमा कुल ७६ देशका १७१ वटा आरोही टोलीबाट जम्मा १,४९३ जना आरोहीले हिमाल आरोहणको आधिकारिक स्वीकृति ९परमिट० लिइसकेका छन् । अनुमति लिने कुल आरोहीहरूमा ३५६ जना महिला र १,१३७ जना पुरुष रहेका छन् । नेपालका हिमालहरूप्रति अन्तराष्ट्रिय पर्वतारोहीहरूको आकर्षण बढ्दोक्रममा रहेको यो तथ्यांकले देखाउँछ ।

पर्यटन विभागका सूचना अधिकारी सुरज घिमिरेले उपलब्ध गराएका तथ्याङ्क अनुसार नेपालका हिमालहरूमध्ये सबैभन्दा बढी आरोहीहरूको चाप ८,१६३ मिटर उचाइको प्रसिद्ध मनास्लु हिमालमा देखिएको छ । मनास्लु हिमाल आरोहणका लागि मात्र ४३ वटा टोलीका ५०० जना आरोहीले अनुमति लिएका छन्, जसमध्ये ३७३ जना पुरुष र १२७ महिला रहेका छन् । मनास्लुबाहेक ८,६१४ मिटर उचाइको आमादब्लम हिमालमा पनि ३४ वटा टोलीबाट कुल ४१२ जना ९३११ पुरुष र १०१ महिला० आरोहीले अनुमति लिएको देखिन्छ ।

Pach Pandav

यसैगरी, हिम्लुङ हिमाल १३० जना, बरुण त्से ६५ जना, थापा पिक ५५ जना, लगायतका हिमालहरूमा पनि आरोहीहरूको उल्लेख्य भीड देखिएको छ । साना तथा मझौला हिमालदेखि आठ हजार मिटरभन्दा माथिका चुचुराहरूसम्मै यसपटक पर्वतारोहीहरूको सक्रियता उत्साहजनक रहेको छ ।

पर्यटन विभागको देशगत अनुमति प्रतिवेदन अनुसार यसपटक विश्वभरका ७६ भन्दा बढी राष्ट्रका नागरिकहरू नेपालका हिमालहरू आरोहण गर्न भित्रिएका छन् । प्राप्त तथ्यांकअनुसार यस सिजनमा सबैभन्दा धेरै संयुक्त राज्य अमेरिकाबाट १२१ जना आरोहीले अनुमति लिएका छन् । त्यसैगरी, रुसबाट ११३ जना, युनाइटेड किंगडमबाट १०२ जना, फ्रान्सबाट १३६ जना, चीनबाट १४२ जना, नर्वेबाट ३२ जना, जर्मनीबाट ९७ जना, इटालीबाट ६३ जना र स्पेनबाट ५५ जना आरोहीहरूले नेपालका हिमाल आरोहणको अनुमति प्राप्त गरेका छन् ।

छिमेकी मुलुक भारतबाट ४० जना आरोहीहरू आएका छन् भने यसै सिजनमा नेपालबाट पनि ३७ पुरुष र ३ महिला गरी कुल ४० जना स्वदेशी नागरिकले हिमाल आरोहणका लागि अनुमति लिएको देखिन्छ ।

हिमाल आरोहण अनुमति जारी गरेबापत नेपाल सरकारले यस शरद ऋतुमा मोटो रकम राजश्व संकलन गरेको छ । विभागको प्रतिवेदनअनुसार हालसम्म हिमाल आरोहण रोयल्टीबापत कुल २१,२८,१०९ अमेरिकी डलर अर्थात् नेपाली रुपैयाँमा ३२,३७,८८,९९० रुपैयाँ ९करिब ३२ करोड ३७ लाख रुपैयाँ० संकलन भइसकेको छ ।

संकलित कुल रोयल्टी रकममध्ये सबैभन्दा ठूलो हिस्सा मनास्लु हिमालको मात्र रहेको छ । एक्लो मनास्लु हिमालबाट मात्रै १४,८५,८१६ अमेरिकी डलर अर्थात् २२,५८,५७,१८९ नेपाली रुपैयाँ रोयल्टीबापत सङ्कलन भएको छ । त्यसैगरी, आमादब्लम हिमालबाट ४,०४,००० अमेरिकी डलर ९६,१६,५१,६५० नेपाली रुपैयाँ० राजस्व उठेको छ ।

Leave A Reply

Your email address will not be published.