सुचना, समाचार र मनोरन्जन

‘हिमालयन गोल्ड’निर्देशक धिरज राजवंशी भन्छन्,‘मलाई लाग्छ यो कथा अहिलेसम्म कसैले फिल्ममा भनेका पनि छैनन्’

काठमाडौँ :

निर्देशक धिरज राजवंशी आफ्नो डेब्यू निर्देशकीय फिल्म ‘हिमालयन गोल्ड’ लिएर दर्शकमाझ यही मंसिर ४ गतेदेखि आउँदैछन्। अमेरिकाको लसएन्जल्समा फिल्म डिरेक्सन र प्रोड्युसिङ विषयमा अध्ययन गरेका उनले नेपाल फर्किएपछि फिल्म ‘खुस्मा’मा चिफ एडी भएर काम गरे। यो फिल्मको सुटिङका लागि रुकुम पुगेपछि उनलाई ‘हिमालयन गोल्ड’को बाटो खुलेको रहेछ।

‘नेपाल फर्किएपछि कस्तो कथामा फिल्म बनाउने भन्ने सोच दिमागमा चाहिँ थियो। नेपाली कथालाई ग्लोबल अडियन्समा देखाउनु पर्यो भने बाहिर नै लगेर देखाउँदा कुन चाहिँ नयाँ कथा देखाउन सकिन्छ भन्ने माइन्डसेट थियो। हामी ‘खुस्मा’को सुटिङका लागि रुकुम पुगेका थियौं। सुटिङ सकिएपछि मैले स्थानीयबाट सबैभन्दा राम्रो यार्सागुम्बा रुकुममा पाउँछ भन्ने थाहा पाएँ’,उनले भने,‘सुटिङ सकेपछि घोडा चढेर स्थानीयसँग यार्सागुम्बा पाउने ठाउँमा पुगें। त्यो बेला यार्सागुम्बा टिप्ने सिजन पनि रहेछ । त्यहाँ पुगेपछि यार्सागुम्बा टिपेका व्यक्तिहरुमाथि कसरी लुटपाट हुन्थ्यो । कसरी डोल्पाका मान्छेहरु रुकुम आउँथे । मनाङ जान्थे भन्ने थाहा पाएँ । माओवादी युद्ध पनि रोल्पा, रुकुमबाट नै सुरु भएको थियो । सुरक्षा नहुँदा कसरी लुटपाट हुन्थ्यो भन्ने थाहा पाएपछि ‘ल यसमा चाहिँ कथा छ है’ भन्ने लाग्यो । किनकी मलाई लाग्छ यो कथा अहिलेसम्म कसैले फिल्ममा भनेका पनि छैनन् ।’

धिरजले फिल्म ‘हिमालयन गोल्ड’मा रुकुम, डोल्पा, रोल्पा, मनाङको समुदाय यार्सागुम्बाको सिजनमा कसरी निर्भर हुन्छन् भन्ने कुरा देखाएको बताए । उनका अनुसार फिल्मले सन् १९९० ताकाको समयलाई देखाएको छ । जुन समयमा स्थानीयबासिन्दा यार्सागुम्बा टिप्न जाँदा सरकारी सुरक्षाको अभावमा लुटपाटमा पर्थे । ‘जो जो मान्छे यार्सा गुम्बा टिप्न जान्थे, त्यो बेला लुटपाट धेरै हुन्थ्यो । त्यही कुरालाई फिल्ममा देखाएका छौं’, उनले भने ।

धिरजका अनुसार उनलाई यसको कथा तयार पार्न झण्डै डेढ वर्ष समय लागेको थियो । उनले सुटिङ अघि चारपटक मुस्ताङ पुगेर स्क्रिप्ट लेखेका रहेछन् । उनले यार्सागुम्बा टिप्ने स्थानमा पुगेर क्याम्प नै बनाएर बसेका रहेछन् । ‘त्यहाँ पुग्न मलाई घोडामा पाँच घण्टा समय लाग्यो । मलाई खासमा डोल्पामा सुट गर्न मन थियो । तर फिजिबिलिटी, बाटो सुविधा नभएर र प्रोडक्सन खर्च बढी हुने देखिएपछि मैले मुस्ताङमा सारे’, उनले भने, ‘मुस्ताङमा सार्दा पनि हाइ अल्टिच्यूटमा नै गर्यौ । ४८०० भन्दा मुनि त सुट नै गरेनौं । लोमान्थाङमा व्यवासायिक रुपमा सुट गरेको फिल्म सम्भवत हाम्रो नै पहिलो हो । लोमान्थाङ माथि पनि सुट गरेर आएका छौं ।’

धिरजले फिल्मको हिरो नै परीक्षा लिम्बु रहेको खुलाए । परीक्षाको अभिनय रहेको फिल्म ‘ऊनको स्वीटर’ हेरेपछि परीक्षाको अभिनयबाट धिरज प्रभावित भएका रहेछन् । ‘मैले प्रोडक्सन भन्दा ६ महिना अघि नै उहाँलाई फिल्मको लुज ड्राफ्ट दिएको थिएँ, त्यो उहाँले मनपराउनुभयो अनि साइन गराएँ । फिल्ममा परीक्षा हिरो, अनि चारजना गुण्डा छन् । पहिलो गुण्डाको रुपमा कर्मा दाईलाई नै लिएँ । किनभने स्क्रिप्ट लेख्दा देखि नै कर्मा दाई दिमागमा हुनुहुन्थ्यो । त्यसपछि सजन थापा मगर । उहाँलाई मैले ‘पशुपति प्रसाद’ हेरेपछि नै आफ्नो फिल्ममा लिन्छु भन्ने थियो । अनि उहाँले अडिसन दिनुभयो र छनोट हुनुभयो। अनि अन्तिममा सुनिल थापा चाहिँ जोडिनुभयो’, धिरज खुले, ‘म पहिला देखि नै एभरेष्ट फिल्म गइरहन्थे । मैले लसएन्जल्समा पढ्दा भोगेको कुरा के थियो भने फिल्म पढिसकेपछि अधिकांश विद्यार्थीको जाने बाटो नै हुँदैन थियो । उनीहरुलाई फिल्म उद्योगमा कसरी घुस्ने भन्ने थाहा हुँदैन । त्यसकारण मैले एभरेष्ट फिल्म एकेडेमीमा गएर चार पाँचजना विद्यार्थीहरुलाई हाम्रो फिल्ममा इन्टर्न गर्न लगाएँ । फिल्ममा मेन भिलेन, ग्याङको लिडर कास्ट भइरहेको थिएन । त्यही क्रममा मैले सुनिल दाईलाई ‘दाई यो रोल गरिदिनु न’ भनेको थिएँ । उहाँले स्क्रिप्ट पढ्ने बित्तिकै म गर्छु भन्नुभयो ।’

हिमाली भेगमा फिल्मको सुटिङ गर्नुपर्दा उनले चुनौती राम्रै भोगेका रहेछन् । ‘हामीले प्रि प्रोडक्सनमा नै प्रत्येक काष्ट एण्ड क्रुलाई नै भनेका थियौं । पहिलादेखि नै वार्मअप गरिरहेका थियौं । मुक्तिनाथ भन्दा माथि सुट गर्नुपर्छ । लोमान्थाङमा सुट गर्नुपर्छ । स्वास्थ्यको तयारी गर्नु । गोजीमा लसुन बोक्नु । ती सबै कुरा गरिराख्नु भनेका थियौं । हामीलाई ठूलो च्यालेन्ज चाहिँ थिएन । हामीलाई प्रोडक्सन मेनेजरले दैनिक रुपमा राती सबै जनाको अक्सिजन लेभल चेक गरिरहन्थे । लोमान्थाङमा बढी चेकजाँच गरियो । हामीलाई जाडो नै बढी दुःख भयो’, उनी भन्छन् ।

Pach Pandav

‘हिमालयन गोल्ड’ अन्डरडगको कथा भएकाले आम दर्शकमा कनेक्ट गर्नेमा धिरज ढुक्क छन् । ‘यो अन्डरडग कथा हो । जुन क्यारेक्टर परीक्षाले निभाएको छ । उसको काम नै संघर्षशिल छ । त्यो केटीले रिभेन्ज कसरी लिन्छ भन्ने कुरा हो । यो स्टोरीको मेन प्लट नै चारजना लुटेरा हुन्छ । चारजना लुटेराले यार्सा गुम्बा लुट्दै आउँदा परीक्षाको परिवार पनि यो जालमा फस्छ । अनि परीक्षाको क्यारेक्टरले सबैलाई भेट्छ,’ धिरज भन्छन् ।

धिरज लोमान्थाङमा सुटिङ गर्दा स्थानीय मानिस र स्थानीय निकायले गरेको सहयोग प्रति खुशी छन् । ‘लोमान्थाङ भन्दा माथि टकमार भन्ने ठाउँ छ । हामी जाँदा त्यहाँ बत्ति नै थिएन । त्यो लोमान्थाङ भन्दा अझ विकट ठाउँ हो । हामी त्यहाँ ३ दिन बस्यौं । त्यहाँ यार्सागुम्बा मात्र छैन, वातावरण, सुन्दरता र स्थानीयको संघर्ष आफैंमा उदाहरणीय छ । यो क्षेत्रमा पर्यटन बोर्डले बुस्ट गर्नुपर्छ । त्यहाँका मानिसलाई काठमाडौंमा के भइरहेको छ भन्ने कुराको मतलब नै नहुँदो रहेछ’, उनले भने ।

धिरज ‘हिमालयन गोल्ड’लाई व्यावसायिक फिल्म नै मान्छन् । तर फिल्म फरक जनरामा बनेको छ भन्ने कुरामा उनी ढुक्क छन् । ‘अहिले पनि झण्डै ९५ प्रतिशत फिल्महरु एउटै शैलीमा बनेका छन् । मैले पाँच वर्ष फिल्म उद्योगमा काम गर्दा कतिजनाले केही नयाँ र फ्रेस आउनुपर्छ भन्ने चाहन्थे । त्यो चाहना हिमालयन गोल्डले केही हदसम्म पुरा गर्नेमा म ढुक्क छु । म गाउँकै कथामा वैदेशिक रोजगारको विषयमा पनि फिल्म बनाउन सक्थें । तर त्यो अरुले भनिसके र देखाइसके । यार्सागुम्बको पनि बनेको छैन र जसरी हामीले स्टोरी टेलिङ देखाएको छ, यो धेरै चुनौतिपूर्ण थियो,’ धिरज खुले ।

अहिले धिरज एउटा कुरा ढुक्कका साथ भन्छन्, त्यो के हो भने फिल्म ‘खुस्मा’को लागि उनी रुकुम नपुगेको भए सायदै त ‘हिमालयन गोल्ड’ केही ढिलो निर्माण हुन्थ्यो । ‘सायद फिल्म बन्थ्यो, तर यति गहिराईमा चाहिँ बन्दैन थियो । म त्यहाँ जानुभन्दा अगाडि चाहिँ फिल्म गर्नुपर्छ है भनेर मेरो मनमा थियो । तर त्यहाँ पुगेपछि स्क्रिप्टको डिटेलिङका लागि कतिपय क्यारेक्टरहरु त त्यहाँको वास्तविक मान्छेका चरित्र पनि छन् । जसलाई मैले भेटेको थिएँ । फिल्मका घटना र दुर्घटनाहरु पनि त्यही कथा सुनेर नै राखेको हो । ‘खुस्मा’को समयमा त्यहाँ नगएको भए मलाई अलिकति समय चाहिँ लाग्थ्यो’, धिरजको भनाई छ ।

अ ह्वाइट एलिफेन्ट मोसन पिक्चर प्रोडक्सनको ब्यानरमा निर्माण भएको यो फिल्ममा सुनिल थापा, कर्मा शाक्य, मेनुका प्रधान,परीक्षा लिम्बु, राहुल एन.मुखिया, सजन थापा,अङ्कित खड्का,सुनील तामाङ, तेन्जिङ ठाकुरी, सबिता अधिकारी, ऋषिकेश बस्यालको मुख्य अभिनय छ।

दिग्गज अभिनेता सुनिल थापाले अभिनय गरेको यो अन्तिम फिल्म हो। हिमाली क्षेत्रको पृष्ठभूमिमा निर्माण गरिएको यो सर्भाइभल थ्रिलर फिल्मले अस्तित्वको संघर्ष,लोभ र विश्वासघातलाई फिल्मको मुख्य कथावस्तु बनाइएको छ। मीनबहादुर भाम निर्माता रहेको यस फिल्मका लाइन प्रोड्युसर शैलेन्द डी. कार्की, सह-निर्माता सुयश ज्ञवाली र कायकारी निर्माता राजु राजवंशी हुन्। निर्देशक राजवंशीकै कथा रहेको फिल्ममा दीपेन्द गौचन र धिराज राजवंशीको पटकथा, विशष्ठ प्रधानको डिओपी, निमेश श्रेष्ठको सम्पादन,सजल लोप्चन र करुण थापाको भिएफएक्स छ।

यो फिल्मलाई भारतको प्रतिष्ठित वितरक ए ए फिल्म्स्ले भारतमा प्रदर्शन गर्ने भएको छ। ए ए फिल्म्स भारतीय सिनेमाकै प्रख्यात वितरण कम्पनी हो, जसले बहुबली, आरआरआर, केजिएफ जस्ता फिल्म वितरण गरेको थियो। मिडलइस्ट डिस्ट्रिब्युटरमा फार्स फिल्मको मोसन पिक्चर्सले गर्ने फिल्मलाई नेपालमा एप्पल इन्टरटेनमेन्टले वितरणको जिम्म लिएको छ।

Leave A Reply

Your email address will not be published.