सुचना, समाचार र मनोरन्जन

विश्वसम्पदा क्षेत्रमा पटाका पड्काउँदा ऐतिहासिक सम्पदा र मानव स्वास्थ्य जोखिममा

काठमाडौं,

विश्वसम्पदा सूचीमा सूचीकृत भक्तपुरको पाँचतल्ले मन्दिर परिसरमा पटाका पड्काउँदा ऐतिहासिक सम्पदा, सार्वजनिक सुरक्षा र मानव स्वास्थ्यमा जोखिम बढेको भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन् ।

नेपाल संवत् ११४७ को अवसरमा अस्ति आयोजित न्हुदँया भिन्तुना र्‍यालीका सहभागी तथा आन्तरिक पर्यटकले राति करिब ८ बजेदेखि मध्यरातिसम्म टौमढी क्षेत्रमा सयौँको सङ्ख्यामा बारुदजन्य पटाका पड्काएका थिए । पटाकाबाट निस्किएको आगोको झिल्कोले सयौँ वर्ष पुराना काठका संरचना रहेको पाँचतल्ले मन्दिर तथा आसपासका ऐतिहासिक सम्पदामा आगलागी हुनसक्ने जोखिम बढाएको स्थानीयवासीको भनाइ छ ।

पटाका पड्काइएको तस्वीर सामाजिक सञ्जालमा सार्वजनिक भएपछि स्थानीय केपी छुस्याकीले सांस्कृतिक चेतना र नागरिक जिम्मेवारी गुम्दा मानिसमा विवेक हराउने गरेको टिप्पणी गर्नुभएको छ । उहाँले भव्य काठका संरचनाको बीचमा बारुदसँग खेल्नु सांस्कृतिक धरोहरमाथिको जोखिमपूर्ण व्यवहार भएको उल्लेख गर्नुभएको छ । त्यस्तै, अनिल पाउँले पटाका पड्काउने व्यक्ति वा समूहको पहिचान गरी सामाजिक सञ्जालमा सार्वजनिक भएका श्रव्यदृश्य सामग्रीका आधारमा सम्बन्धित निकायले कारबाही गर्नुपर्ने माग गर्नुभएको छ ।

Pach Pandav

मङ्गलबार राति टौमढी क्षेत्रमा पटाका पड्काइएको घटनाको स्थलगत रिपोर्टिङका क्रममा त्यहाँ पुग्दा पटाका पड्काउने क्रममा रकेट पटाका माथि जान नसकी बच्चा बोकेकी एक महिलाको खास्टोमा अड्किएको घटना पनि देखिएको थियो । समयमै ध्यान दिइएकाले सम्भावित आगलागी र दुर्घटना हुन पाएन । उक्त पटाका मन्दिरका पुराना तथा मक्किएका काठमा परेको भए ठूलो क्षति हुनसक्ने अवस्था रहेको प्रत्यक्षदर्शीको भनाइ छ ।

घटनास्थलमा सुरक्षाकर्मी पनि उपस्थित थिए । पटाका पड्काउन रोक्न आग्रह गर्दा एक सुरक्षाकर्मीले आफूहरू सङ्ख्यामा कम र पटाका पड्काउनेहरू धेरै भएकाले नियन्त्रण गर्न कठिन भएको बताएका थिए । उहाँका अनुसार प्रहरीले दशैँदेखि नै पटाका नपड्काउन सार्वजनिक सूचना जारी गर्दै आएको थियो । प्रहरीले केही व्यक्तिलाई नियन्त्रणमा समेत लिएको छ ।

टौमढीका स्थानीयवासी सत्य शर्माले पटाकाको चर्को आवाज र धुवाँका कारण टौमढी तथा आसपासका बासिन्दा प्रभावित भएको बताउनुभयो । राति अबेरसम्म निरन्तर पटाका पड्काइँदा स्थानीयवासीले सुत्नसमेत नपाएको उहाँको भनाइ छ । चाडपर्व मनाउने नाममा गरिने यस्ता गतिविधिले विशेष गरी बालबालिका, ज्येष्ठ नागरिक तथा बिरामीलाई थप समस्या परेको उहाँले बताउनुभयो । पटाकाको आवाजले शान्त वातावरणमा असर पुर्‍याउनुका साथै धुवाँका कारण घरभित्रै बस्नसमेत असहज भएको स्थानीयवासीको गुनासो छ ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार सूक्ष्म कणसहितको वायु प्रदूषणको दीर्घकालीन सम्पर्कले फोक्सोको क्यान्सरलगायत गम्भीर स्वास्थ्य समस्या निम्त्याउन सक्छ । पटाकाबाट निस्कने धुवाँमा रहेका विषाक्त पदार्थ तथा धातुका कणले पनि स्वास्थ्य जोखिम बढाउन सक्छन् । यद्यपि, एक पटक पटाकाको धुवाँमा पर्दैमा क्यान्सर हुन्छ भन्ने होइन । यसको जोखिम प्रदूषणको मात्रा, सम्पर्कको अवधि र दोहोरिने अवस्थासँग सम्बन्धित हुन्छ ।

सम्पदाको संरक्षण राज्यको मात्र नभई नागरिकको पनि जिम्मेवारी भएकाले पर्व तथा उत्सव मनाउने नाममा अरूको स्वास्थ्य, सार्वजनिक सुरक्षा र ऐतिहासिक सम्पदालाई जोखिममा पार्ने गतिविधि रोक्न स्थानीय सरकार, प्रहरी प्रशासन, जनप्रतिनिधि र नागरिक सबै जिम्मेवार हुनुपर्ने स्थानीयको भनाइ छ ।

Leave A Reply

Your email address will not be published.