सुचना, समाचार र मनोरन्जन

पोखरामा दोस्रो संस्करणको ‘आरयू फेस्ट–रि–थिङ्क २०२६’ सुरु

पोखरा,

पोखरामा दिगो फोहोर व्यवस्थापन, पुनःप्रयोग तथा पुनर्चक्रणमार्फत हरित रोजगारी सिर्जना गर्ने उद्देश्यसहित दोस्रो संस्करणको ‘आरयू फेस्ट–रि–थिङ्क २०२६’ सुरु भएको छ।

पोखरा महानगरपालिका, कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) को सहकार्यमा आयोजित फेस्टको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गर्नुभएको हो। पोखरा इभेन्ट सेन्टरमा सुरु भएको महोत्सव मंसिर ३ गतेसम्म सञ्चालन हुनेछ।

‘रि–थिङ्क २०२६ स् फ्रम वेस्ट टु वर्थ’ भन्ने नारासहित आयोजित फेस्टको उद्घाटन गर्दै मुख्यमन्त्री पाण्डेले फोहोरलाई समस्याका रूपमा मात्र नहेरी त्यसमा रहेका सामाजिक, आर्थिक तथा वातावरणीय सम्भावनाको पहिचान गर्नुपर्ने बताउनुभयो। उहाँले फोहोरको पुनःप्रयोग र प्रशोधनमार्फत चक्रीय अर्थतन्त्रको विकासमा जोड दिनुपर्ने धारणा राख्नुभयो।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले महानगरमा सञ्चालित रिसाइक्लिङ तथा अपसाइक्लिङमार्फत हरित रोजगारी सिर्जना परियोजना ९जीसीआरयू० अन्तर्गत फेस्ट आयोजना गरिएको बताउनुभयो। फेस्टले रिसाइक्लर, अपसाइक्लर, पर्यटन क्षेत्र, निजी कम्पनी तथा आम नागरिकबीच सम्बन्ध र सहकार्य विस्तार गर्ने लक्ष्य लिएको उहाँको भनाइ छ।

Pach Pandav

फेस्टमार्फत रिसाइक्लिङ तथा अपसाइक्लिङ उद्यमलाई बजारसम्म पहुँच र वास्तविक बिक्रीका अवसर उपलब्ध गराउनुका साथै विद्यार्थीलाई सिकाइ र अनुभव आदानप्रदानको अवसर प्रदान गरिने उहाँले बताउनुभयो। पोखरामा ग्रिन भेन्चर जोनको अवधारणा प्रवर्द्धन गर्दै हरित उद्यमी तथा नवप्रवर्तक विद्यार्थीलाई लगानी र व्यवसाय विस्तारका अवसरसँग जोड्ने योजना रहेको पनि उहाँले जानकारी दिनुभयो।

कोइकाका कन्ट्री डाइरेक्टर मूहेओन कोङ र यूएनडीपीकी आवासीय प्रतिनिधि क्योको योको सुकाले पोखरामा हरित रोजगारी सिर्जना र चक्रीय अर्थतन्त्र निर्माणका लागि यस्ता कार्यक्रम महत्त्वपूर्ण हुने बताउनुभयो।

महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले फेस्टबाट हरित उद्यमहरूको दृश्यता र बजार पहुँच बढ्नुका साथै रिसाइक्लर, अपसाइक्लर, निजी क्षेत्र र पर्यटन क्षेत्रबीचको सहकार्य सुदृढ हुने अपेक्षा गरिएको बताउनुभयो। यसले चक्रीय अर्थतन्त्र र प्लास्टिक प्रदूषण न्यूनीकरणका उपायबारे जनस्तरमा सचेतना बढाउनसमेत सहयोग पुग्ने उहाँको भनाइ छ।

परियोजनाअन्तर्गत तीन हजार हरित रोजगारी सिर्जना गर्ने लक्ष्य राखिएको छ। साथै विस्तारित उत्पादकको दायित्वसम्बन्धी नियामकीय अनुगमन र संवादलाई समेत प्राथमिकता दिइएको छ।

फेस्टलाई पोखराको वार्षिक कार्यक्रमका रूपमा स्थापित गर्दै हरित उद्यमशीलता, वातावरण संरक्षण र दिगो आर्थिक विकासको साझा मञ्च बनाउने आयोजकको लक्ष्य छ।

Leave A Reply

Your email address will not be published.