सुचना, समाचार र मनोरन्जन

‘ग्रान्ड एभरेस्ट आश्रम’का लागि अडिसन आह्वान, इच्छुक कलाकारलाई सहभागी हुन आग्रह

काठमाडौँ :
Pach Pandav
नेपाल र दक्षिण कोरियाको संयुक्त सहकार्यमा निर्माण हुन लागेको अन्तर्राष्ट्रिय चलचित्र ‘ग्रान्ड एभरेस्ट आश्रम’का लागि खुला अडिसन आह्वान गरिएको छ। बोइम ह्वाङको लेखन तथा निर्देशनमा निर्माण हुन लागेको चलचित्रका लागि निर्माण पक्षले इच्छुक कलाकार तथा नयाँ प्रतिभालाई अडिसनमा सहभागी हुन आमन्त्रण गरेको हो।

बोकल्ट फिल्म्स र काठमाडौँ फिल्म्सको संयुक्त निर्माणमा बन्न लागेको यस चलचित्रको खुला अडिसन आगामी मंसिर १२ गते शनिबार काठमाडौँस्थित ओस्कार इन्टरनेसनल कलेज (कलेज अफ फिल्म स्टडिज) मा आयोजना हुनेछ। अडिसन बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सञ्चालन हुने बताइएको छ।

नेपाल र दक्षिण कोरियाबीचको सांस्कृतिक तथा सिर्जनात्मक सहकार्यलाई चलचित्रमार्फत अन्तर्राष्ट्रिय स्तरमा विस्तार गर्ने उद्देश्यले निर्माण हुन लागेको ‘ग्रान्ड एभरेस्ट आश्रम’ रोमान्टिक कमेडी तथा सुपरनेचुरल विधामा आधारित चलचित्र हो। के-ड्रामाको स्वादसमेत रहने चलचित्रले पूर्व कोरियाली के-पप स्टार र एक युवा नेपाली गुरु तथा होटल सञ्चालकबीच विकसित हुने अनपेक्षित प्रेम सम्बन्धको कथा प्रस्तुत गर्नेछ।

चलचित्रमा नेपाली अभिनेतामध्ये अरुण क्षेत्री पुरुष मुख्य भूमिकामा अनुबन्धित भइसकेका छन्। उनको जोडीका रूपमा दक्षिण कोरियाली अभिनेत्री रहनेछिन्, जसको नाम निर्माण पक्षले पछि सार्वजनिक गर्ने जनाएको छ। चलचित्रमा प्रेम, हास्य र रहस्यका साथै आधुनिक सेलिब्रेटी संस्कृति, नेपालको आध्यात्मिक परिवेश, पहिचान र बाहिरी देखावट तथा वास्तविकताबीचको भिन्नतालाई रोचक ढङ्गले प्रस्तुत गरिनेछ।

निर्माण पक्षका अनुसार चलचित्रले नेपालको हिमाल र पदयात्राका परिचित दृश्यभन्दा फरक आध्यात्मिक तथा अलौकिक परिवेशलाई प्रेमकथामार्फत अन्तर्राष्ट्रिय दर्शकमाझ पुर्‍याउने लक्ष्य राखेको छ। चलचित्रको छायाङ्कन सन् २०२७ फेब्रुअरीदेखि मार्चसम्म नेपालमा गर्ने प्रारम्भिक योजना छ। विश्वव्यापी थिएटर प्रदर्शन तथा अन्तर्राष्ट्रिय फिल्म फेस्टिभललाई लक्षित गरी निर्माण हुन लागेको चलचित्रलाई पछि स्ट्रिमिङ प्लेटफर्ममार्फत समेत प्रदर्शन गर्ने योजना रहेको छ।

नेपाल, दक्षिण कोरिया, उत्तर अमेरिका र युरोपका दर्शकलाई लक्षित गरिएको यस परियोजनाले नेपाली कलाकार तथा चलचित्रकर्मीका लागि अन्तर्राष्ट्रिय चलचित्र निर्माणमा जोडिने अवसरसमेत सिर्जना गर्ने अपेक्षा गरिएको छ।

अडिसनमा सहभागी हुन इच्छुक कलाकारले नोभेम्बर २८ मा बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म ओस्कार इन्टरनेसनल कलेज, काठमाडौँमा उपस्थित हुन सक्नेछन्। थप जानकारीका लागि +977-9860088494 मा सम्पर्क गर्न सकिनेछ।

Leave A Reply

Your email address will not be published.