काठमाडौँ :
‘आचार्य’ लिरिज भएको लामो समयपछि अभिनेता निखिल उप्रेती ‘कस्तुरी’को अन्तिम चरणको छायाङ्कनमा फर्किएका छन्। निखिल उप्रेती र वर्षा सिवाकोटीको मुख्य भूमिका रहेको यस फिल्मको बाँकी छायाङ्कनमा उनी फर्किएका हुन्।

निर्माण पक्षका अनुसार यो फिल्ममा ९० प्रतिशत छायाङ्कन सकिसकेको छ। अब काठमडौंमा यस फिल्मको बाँकी छायाँकन थालिएको हो। ऋत बोहोराले निर्देशनमा निर्माण भइरहेको यस फिल्ममा वर्षा र निखिल सँगै शेखर चापागाईँ,निर्मल शर्मा,अर्जुन गुरुङ,भोलाराज सापकोटा, सबी थापा, प्रशान्त केसी, सन्तोष बानियाँ, सुवास बमजन, मिरा पण्डित, घनश्याम जोशी, श्रेया श्रेष्ठ, प्रतिष्ठा थापा,नेहा गौतमको अभिनय छ। क्यामियो’भूमिकामा गौरव पहारी र हेना नगरकोटी देखिँदै छन्।
टेन इन्टरटेनमेन्ट प्रालिको ब्यानरमा निर्माण भइरहेको फिल्मको पटकथा बोहोराले नै लेखेका हुन्। फिल्मको निर्माता धिरजकुमार अग्रवाल हुन् भने सह(निर्मातामा अञ्जली चौधरी छिन्। आलोक शुक्लाले खिचिरहेको यस फिल्मको सहायक निर्देशकमा ललित विष्ट छन्। फिल्मका गीतमा सङ्गीत प्रशान्त सिवाकोटीको छ भने निर्माण व्यवस्थापन दिलीप पन्तले हेर्नेछन्। फिल्मको रिलिज मिति भने तय गरिएको छैन।