काठमाडौं :
पाकिस्तानी गायक आतिफ अस्लम पहिलोपटक इटहरीमा गुञ्जिने भएका छन्। जय मिडिया म्यानेजमेन्टले आगामी पुष ४ गते आयोजना गर्न लागेको ‘इस्टर्न इकोज’ नामक कन्सर्टमा गायक आतिफले पुराना र नयाँ गीत सुनाउनेछन्। कार्यक्रम सुनसरीको इटहरी रंगशालामा आयोजना हुनेछ।

आतिफले गाएका ‘वो लम्हे, वो बाते’,‘पेहेली नजर मे’, ‘तु जाने ना’, ‘तेरे होने लगा हुँ’ गीतहरु श्रोता तथा दर्शकमाझ चर्चित छन्। आयोजक जयराज रायले काठमाडौंमा मात्रै सीमित अन्तर्राष्ट्रिय स्तरका कन्सर्ट काठमाडौं बाहिर पनि गर्न सकिन्छ भन्ने उदाहरण दिन इटहरीमा गर्न लागिएको बताए।
‘सीमावर्ती भारतीय सहरहरूसमेत नजिक रहेकाले कन्सर्टमा भारतबाट मात्रै ८ देखि १० हजार दर्शक आउने हाम्रो अपेक्षा छ’,उनले भने, ‘कन्सर्टले पूर्वी नेपालको पर्यटन,होटल तथा स्थानीय व्यवसाय प्रवर्द्धनमा समेत टेवा पुर्याउने विश्वास लिएका छौं। आयोजकका अनुसार दर्शकहरूले खल्ती एप प्रयोग गरी डिजिटल माध्यमबाटै कन्सर्टको टिकट खरिद गर्न सक्नेछन्।