पोखरा,
पश्चिमाञ्चल अटोमोबाइल एसोसिएसन (वाडा) को २१औँ वार्षिक साधारण सभा तथा ११औँ अधिवेशन आगामी पुस ११ गते हुने भएको छ। अधिवेशनले संस्थाको नयाँ नेतृत्व चयन गर्नेछ।
एसोसिएसनको आइतबार सम्पन्न २५औँ कार्यसमिति बैठकले साधारण सभा तथा अधिवेशनलाई व्यवस्थित र भव्य रूपमा सम्पन्न गर्ने निर्णय गरेको हो। अधिवेशनको तयारीसमेत अघि बढाइएको अध्यक्ष दीपेन्द्र कोइरालाले जानकारी दिए।
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको गण्डकी प्रदेशमा क्रियाशील प्रादेशिक संस्थाका रूपमा रहेको वाडामा टायरदेखि सवारीसाधन बिक्री–वितरणसम्मका व्यवसायी आबद्ध छन्। एसोसिएसनमा हाल ५ सय ७२ जना सदस्य रहेको अध्यक्ष कोइरालाले बताए।

व्यवसायीहरूको एकता, साथ र सहयोगकै कारण संस्था संस्थागत रूपमा बलियो बन्दै गएको उनको भनाइ छ। व्यवसाय सञ्चालनका क्रममा देखिने विभिन्न समस्या समाधान गर्दै व्यवसायीहरूलाई एकताबद्ध बनाएर अघि बढिरहेको उनले बताए।
‘व्यावसायिक रूपमा आइपर्ने समस्याहरूलाई समाधान गर्दै हामी एकताबद्ध भएर अघि बढिरहेका छौँ,’ अध्यक्ष कोइरालाले भने।
पश्चिमाञ्चल अटोमोबाइल एसोसिएसनको नेतृत्व गर्दै पोखराबाटै नाडाको केन्द्रीय अध्यक्षसमेत चयन भइसकेको इतिहास रहेको उनले स्मरण गराए। नाडाले सातै प्रदेशमध्ये पश्चिमाञ्चललाई बलियो प्रदेशका रूपमा लिँदै आएको पनि उनले उल्लेख गरे।
आगामी साधारण सभा तथा अधिवेशनले संस्थाको आगामी कार्यदिशा तय गर्नुका साथै नयाँ नेतृत्व चयन गर्ने भएकाले यसलाई विशेष महत्त्वका साथ हेरिएको छ। अधिवेशनलाई व्यवस्थित र भव्य रूपमा सम्पन्न गर्न आवश्यक तयारी भइरहेको अध्यक्ष कोइरालाले बताए।