सुचना, समाचार र मनोरन्जन

अनमोल र सुहानाको ‘ए मेरो हजुर ५’ शुभमुहूर्त

काठमाडौँ :

अनमोल केसी र सुहाना थापाको मुख्य भुमिका रहने फिल्म ‘ए मेरो हजुर ५’को शुभमुहूर्त सहित सुटिङ सुरु गरिएको छ। निर्माण टिमले शुक्रबार ललितपुरस्थित पाटनको बंगलामुखी मन्दिरमा शुभ मुहूर्त गर्दै छायांकन सुरु गरेको हो।

झरना थापाको निर्देशनमा बन्ने यो फिल्मको बंगलामुखीमा मुहूर्त सट खिचेसँगै निर्माण टिम छायांकनका लागि बाजुरास्थित बडीमालिका मन्दिर र खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्र लागेको छ। निर्देशक थापाले बडीमालिकाजस्तो धार्मिक धरोहरमा फिल्मको छायांकन गर्न पाउँदा आफूहरू गौरवान्वित भएको बताइन्। उनले बडीमालिका धार्मिक तीर्थस्थल मात्र नभई नेपालको पर्यटन र राष्ट्रिय पहिचानको अमूल्य सम्पदा पनि भएको बताएकी छन्।

उनले मिडियाकर्मीसँग भनिन्, ‘हिमाल, संस्कृति, सभ्यता र श्रद्धाको अद्भुत संगम रहेको बडीमालिका केवल एक धार्मिक तीर्थस्थल मात्र होइन, नेपालको पर्यटन र राष्ट्रिय पहिचानको अमूल्य सम्पदा पनि हो।’

फिल्ममा अनमोल र सुहानाका अलवा दिलीप रायमाझी, झरना थापा, सलोन बस्नेत, निरज पन्थी, आशा भुसाललगायत कलाकारको पनि अभिनय रहनेछ।सुहाना र अनमोलको यो तेस्रो सहकार्य हो। यसअघि उनीहरूले ‘ए मेरो हजुर ३’ र ‘ए मेरो हजुर ४’ एकसाथ अभिनय गरेका थिए । सिनेमामा यी दुईको जोडीलाई दर्शकले निकै रुचाएका थिए।

रामजी लामिछानेको कोरियोग्राफी रहने फिल्मको गीतमा कल्याण सिंह, आशिष अविरल, कोशिश क्षेत्री, सलिन मगर, एकदेव लिम्बू तथा टिमको संगीत रहनेछ। संगीत संयोजन उदय राज पौडेलले गर्नेछन्। सुहाना इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुने फिल्मका निर्माता सुनिलकुमार थापा हुन्। सिनेमाको कथा, पटकथा तथा संवाद झरना थापा र सरिन पोखरेलले तयार पारेका छन्। फिल्मको प्रमुख सहायक निर्देशकमा नवराज शर्मा रहेका छन् भने सहायक निर्देशकको जिम्मेवारी अनिल दाहाल र प्रकाश थापाले सम्हाल्नेछन्। निर्माण सहायकमा रञ्जित कोइराला रहनेछन्। कास्टिङ डिरेक्टरको जिम्मेवारी पटकथा लेखक सरिन पोखरेलले सम्हालेका छन् भने प्रोडक्सन डिजाइनर कुमार सिलवाल हुन् ।

त्यस्तै पोस्ट(प्रोडक्सन प्रमुख साहिल खान, रङ संयोजनमा राजन मोक्तान, ध्वनि मिश्रणमा उत्तम न्यौपाने, ड्रेस डिजाइनमा सुशिला श्रेष्ठ ओन्टा तथा छारिफ सार्जन ओन्टा र स्टाइलिस्ट तथा मेकअपरहेयरमा रोनिशा अधिकारी छन्। फिल्मको वितरण काफिया फिल्म्स र कुबेर सिने डिस्ट्रीब्युसनले गर्नेछन् । मिडिया संयोजकको जिम्मेवारी दिनेश सिटौला फिल्म्स (सीपी जैसी)ले सम्हाल्नेछ भने पब्लिसिटी डिजाइनरका रूपमा टौवा प्रोडक्सन जोडिएको छ।

‘ए मेरो हजुर’ का चारै शृंखलाले बक्स अफिसमा राम्रो सफलता हासिल गरेका थिए। स्वर्गीय निर्देशक शिव रेग्मीले निर्देशन गरेको पहिलो श्रृंखलापछि यसको दोस्रो शृंखलाबाट झरना थापाले निर्देशनको जिम्मेवारी सम्हालेकी हुन्। त्यसयता ‘ए मेरो हजुर’ शृंखलाका झरना थापाले नै निर्देशन गर्दै आएपनि यसपटक उनको अभिनय समेत दर्शकले हेर्न पाउने भएका छन्।

‘ए मेरो हजुर’को पहिलो शृंखलामा मुख्य भूमिका देखिएकी झरना करिब २५ वर्षपछि पाँचौँ संस्करणमा अभिनय गर्न लागेकी हुन्। उनी पुरानै भूमिकामा फर्किन लागेकी हुन् कि नयाँ क्यारेक्टरमा भन्ने निर्माण टिमले खुलाएको छैन। जसले दर्शकमाझ झरनाको भूमिका कौतुहल्ता जगाएको छ। यो सिनेमा नेपाली नयाँ वर्ष २०८४ को अवसरमा देशव्यापी प्रदर्शनमा आउनेछ।

Leave A Reply

Your email address will not be published.