सुचना, समाचार र मनोरन्जन

बडीमालिकाबाट सुरु हुँदै ‘ए मेरो हजुर ५’को छायांकन

काठमाडौं :

झरना थापाले फिल्म ‘ए मेरो हजुर ५’को छायांकन सुरु गर्न लागेको बताएकी छन्। उनले यहीँ साउन २९ देखि बाजुरास्थित बडीमालिका मन्दिरबाट सुटिङ थाल्ने जानकारी दिएकी हुन्।

उनका अनुसार बडीमालिका नेपालको अनुपम प्राकृतिक सौन्दर्य, धार्मिक आस्था र सांस्कृतिक गौरवको धरोहर बडीमालिकाबाट मेरो नयाँ सिनेमा ए मेरो हजुर ५ को छायांकन यात्रा यही साउन २९ गतेदेखि शुभारम्भ हुँदैछ।

निर्देशक थापाले बडीमालिकाजस्तो धार्मिक धरोहरबाट सिनेमाको यात्रा सुरु गर्न पाउँदा आफूहरू गौरवान्वित भएको आफ्नो सामाजिक सञ्जालमा उल्लेख गरेकी छन्। साथै बडीमालिका धार्मिक तीर्थस्थल मात्र नभई नेपालको पर्यटन र राष्ट्रिय पहिचानको अमूल्य सम्पदा पनि भएको बताएकी छन्।

उनले लेखेकी छन्, ‘हिमाल, संस्कृति, सभ्यता र श्रद्धाको अद्भुत संगम रहेको बडीमालिका केवल एक धार्मिक तीर्थस्थल मात्र होइन, नेपालको पर्यटन र राष्ट्रिय पहिचानको अमूल्य सम्पदा पनि हो।’

साथै प्रधानमन्त्री बालेन्द्र शाहले समेत बडीमालिकालाई सुदूरपश्चिमको गौरव र नेपालको पर्यटन विकासको महत्त्वपूर्ण आधारका रूपमा उल्लेख गर्दै यसको प्रचार(प्रसारमा विशेष जोड दिएको प्रसंग पनि स्मरण गरेकी छन्।

सञ्जय लामाले खिच्ने यो फिल्ममा अभिनेत्री सुहाना थापा र अभिनेता अनमोल केसी मुख्य भूमिका रहने छ। यस फिल्मका निर्माता सुनिलकुमार थापा हुन्। यसअघि सुहाना र अनमोलले ‘ए मेरो हजुर ३’ र ‘ए मेरो हजुर ४’ एकसाथ अभिनय गरेका थिए।

‘ए मेरो हजुर’ शृंखलाका अघिल्ला चारै संस्करण बक्स अफिसमा सुपरहिट बनेको थियो। स्वर्गीय शिव रेग्मी निर्देशित ‘ए मेरो हजुर’को दोस्रो सिक्वेलबाट झरनाले निर्देशन थालेकी हुन्। स्वर्गीय निर्देशक शिव रेग्मीले निर्देशन गरेको ‘ए मेरो हजुर’ पछि यसको दोस्रो शृंखलाबाट झरना थापाले निर्देशनको जिम्मेवारी सम्हालेकी हुन्। त्यसयता ‘ए मेरो हजुर’शृंखलाका बाँकी संस्करण झरनाले नै निर्देशन गर्दै आएकी छन्।

Leave A Reply

Your email address will not be published.