सुचना, समाचार र मनोरन्जन

‘आ बाट आमा’ले पायो युनिभर्सल सर्टिफिकेट, माघ १६ बाट प्रदर्शनमा

काठमाडौं :

यही माघ १६ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘आ बाट आमा’ सेन्सर पास भएको छ। सोमबार केन्द्रीय चलचित्र जाँच पास समिति (सेन्सर बोर्ड)बाट युनिभर्सल सर्टिफिकेट पाएसँगै फिल्म सेन्सर पास भएको हो।

युनिभर्सल सर्टिफिकेट प्राप्त गरेपछि अब यो फिल्म सबै उमेर समूहका दर्शकले हेर्न पाउने छन्। फिल्मका निर्देशक चन्द्र पन्तले सेन्सर पास भएसँगै सबै उमेरका दर्शकलाई लक्षित गरेर फिल्म निर्माण गरिएको बताएका छन्। उनी भन्छन्, “फिल्म सेन्सर पास हुनु खुसीको कुरा हो। अब सबै उमेरका दर्शकले यो फिल्म हेर्न सक्नु हुनेछ, किनकि फिल्मको नाम नै ‘आ बाट आमा’ हो।”

फिल्मकी अभिनेत्री विपना थापा र अभिनेता प्रदीप रावत प्रचार–प्रसारका लागि भारतबाट नेपाल आएका छन्। उनीहरू फिल्मको प्रचारलाई व्यापक रूपमा जनमानससम्म पुर्‍याउने प्रयासमा छन्। यता नेपालमा रहेका अभिनेता पल शाह, उषा उप्रेती र सिम्रन पन्त पनि प्रचारमा उत्तिकै सक्रिय देखिन्छन्।

फिल्ममा समावेश गीत ‘लैजा खबर ए हावा’ दर्शकमाझ निकै लोकप्रिय बनेको छ। आर्या इन्टरटेन्मेन्टको प्रस्तुतिमा निर्माण भएको यस फिल्ममा विपना थापा, पल शाह, प्रदीप रावत, उषा उप्रेती, सिम्रन पन्त, साइग्रेस पोखरेल, गजित बिष्ट र बेगम नेपालीलगायत कलाकारको मुख्य भूमिका रहेको छ।

निर्देशक पन्तकै कथा तथा पटकथा रहेको फिल्ममा कोशिस क्षेत्री, बाबुल गिरी र थानेश्वर गौतमको संगीत रहेको छ। गीतका भिडियोमा गम्भीर बिष्ट र दिलीप ओखेडाको कोरियोग्राफी छ। अभिमन्यू निरवीद्वारा लिखित संवादमा अमर न्यौपाने, अभिमन्यू निरवी र चन्द्र पन्तले सहकार्य गरेका छन्। छायांकन नवराज उप्रेतीले गरेका हुन्।

फिल्ममा कृष्णप्रसाद सुवेदी,ओमकार पन्त,प्रकाशजंग कुँवर,ध्रुवप्रसाद न्यौपाने र क्षितिज ढुंगानाको लगानी रहेको छ। यस फिल्मका कार्यकारी निर्माता करण सिंह रसाली हुन्। फिल्मको सम्पादन मिलन श्रेष्ठले गरेका छन् भने ट्रेलर र टिजर साहिल खानले तयार पारेका हुन्। फिल्मको वितरण आरआर फिल्म्सले गर्नेछ भने डिजिटल अधिकार ओएसआर डिजिटलसँग रहेको छ।

Leave A Reply

Your email address will not be published.