सुचना, समाचार र मनोरन्जन

‘आ बाट आमा’ मा साइग्रेस अनुबन्ध, कलाकारहरूको लाइनअप पूरा

काठमाडौं :

 आर्या इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने तयारीमा रहेको चलचित्र ‘आ बाट आमा’ मा मोडल तथा सामाजिक सञ्जालकर्मी साइग्रेस पोखरेल अनुबन्धित भएका छन्। निर्माण पक्षका अनुसार पोखरेललाई अनुबन्ध गरेसँगै चलचित्रको कलाकार टोली (लाइनअप) पूर्ण भएको छ।

साइग्रेस पोखरेल टिकटक र अन्य सामाजिक सञ्जालमा लोकप्रिय कन्टेन्ट क्रिएटरका रूपमा परिचित छन्। उनका विचार तथा प्रस्तुतिहरूले सामाजिक सञ्जाल प्रयोगकर्ताको ध्यान आकर्षित गर्दै आएका छन्। चलचित्रमा उनको अभिनय अब पहिलो पटक ठूलो पर्दामा देखिनेछ।

यसअघि चलचित्रमा मोडल तथा अभिनेत्री उषा उप्रेतीलाई पनि अनुबन्ध गरिएको थियो। अब फिल्ममा साइग्रेस र उषाका साथै अभिनेता पल शाह, सदाबहार अभिनेत्री विपना थापा, र दक्षिण भारतीय फिल्मका चर्चित अभिनेता प्रदीप रावतको अभिनय रहने पक्का भएको छ।

चलचित्रको निर्देशन, कथा तथा पटकथा चन्द्र पन्तले गर्दैछन्। चलचित्रको छायांकन भदौ १२ गतेदेखि सुरु हुने तयारीमा छ। निर्माण पक्षले कलाकार र प्राविधिक टिमको छनोटलाई तीव्र बनाउँदै लगिएको जनाएको छ।

फिल्मका निर्माता कृष्णप्रसाद सुवेदी हुन् भने ध्रुव न्यौपाने र प्रकाश कुँवर सह-निर्माणमा रहेका छन्। कार्यकारी निर्माता करण सिंह र सह-निर्माता छितिज ढुङ्गाना हुन्।

यसैबीच, चलचित्र ‘आ बाट आमा’ को विदेश प्रदर्शन अधिकार अष्ट्रेलिया र न्यूजिल्याण्डका लागि हिमारु इन्टरटेन्मेन्ट प्रा.लि. ले खरिद गरिसकेको छ। नेपालभित्रको प्रदर्शन अधिकार आरआर फिल्म्स ले लिएको छ। चलचित्र सन् २०२६ को फागुन १५ गतेदेखि देशव्यापी रूपमा प्रदर्शनमा आउने निर्माण पक्षले जनाएको छ।

Leave A Reply

Your email address will not be published.