मुम्बई :
बलिउड अभिनेता आमिर खानले पछिल्ला दिनमा चलचित्र सफल देखाउन प्रयोग हुँदै आएको ‘कर्पोरेट बुकिङ’ प्रणालीप्रति कडा आपत्ति जनाएका छन्। उनले यसलाई अस्थायी, अर्थहीन र मजबुरीवश अपनाइने अभ्यास भनेका छन्।
भारतीय सञ्चारमाध्यमसँगको कुराकानीमा आमिरले भने, “कर्पोरेट बुकिङ छोटो समयका लागि मात्र देखावटी प्रभाव पार्छ, तर यसले चलचित्रको वास्तविक लोकप्रियता जनाउँदैन। यो बाध्यता हो, विकल्प होइन।”
उनका अनुसार, सुरुवाती दिनमा हल भरिएको देखाउन निर्माता वा वितरकले ठूलो परिमाणमा अग्रिम टिकट खरिद गर्ने प्रथा बढेको छ। तर, यसले चलचित्रको गुणस्तर र वास्तविक दर्शकको मूल्याङ्कनलाई ढाकछोप मात्र गर्ने उनको भनाइ छ।
बलिउडमा पछिल्ला वर्षहरूमा बक्स अफिस आर्जन कृत्रिम रूपमा बढाउने यस्तो प्रवृत्ति बढ्दै गएको भन्दै यसबारे विभिन्न वृत्तमा चर्को बहस सुरु भएको छ।
