सुचना, समाचार र मनोरन्जन
IVF New Banner

परराष्ट्रमन्त्री राणा र चिनियाँ विदेशमन्त्री वाङबीच भेटवार्ता

काठमाडौं/

परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा र चिनियाँ विदेशमन्त्री वाङ यीबीच चीनको छेन्दु शहरमा भेटवार्ता भएको छ ।

हिजो भएको भेटवार्तामा उहाँहरूबीच नेपाल चीन सम्बन्धका विविध पक्ष, आपसी हित र साझा चासोका साथै प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमण र त्यस अवसरमा हुने दुई देशबीचको सहयोग आदानप्रदानका विषयमा कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । भेटवार्ताका क्रममा परराष्ट्रमन्त्री राणाले चिनियाँ विदेशमन्त्री वाङ यीलाई नेपाल भ्रमणका लागि निमन्त्रणा पनि दिनुभएको थियो ।

मन्त्री राणाले पछिल्लो समय नेपाल चीन सम्बन्धमा उल्लेखनीय उपलब्धिहरू हासिल भएका र यसका कारण सम्बन्ध थप बलियो बन्दै गएको बताउँदै चीन सरकारले चीन भ्रमण गर्ने नेपाली नागरिकहरूलाई हालै भिसा शुल्क नलाग्ने घोषणा गरेकोमा चीन सरकारलाई धन्यवाद दिनुभयो ।

Exchange and test

त्यसैगरी नेपाल–चीनबीचका सबै परम्परागत सीमा नाका पुनः नियमित रूपमा सञ्चालनमा आइसकेका र त्यहाँ दुवै देशका नागरिक, सामान र सेवाहरूको सीमापार आवागमन निर्वाध बनेकाले यसलाई थप सहज एवम् प्रभावकारी बनाउन दुवै पक्षबाट महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको उहाँले बताउनुभयो ।

पछिल्ला समयमा नेपाल र चीनबीच उच्चस्तरीय भ्रमणहरूको आदानप्रदान भइरहेको र यी भ्रमणहरूले दुई देशबीचको निकट तथा मैत्रीपूर्ण सम्बन्धलाई सधैँ सुदृढ बनाउँदै नयाँ गति प्रदान गर्दै लैजाने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

भेटवार्ताका क्रममा प्रधानमन्त्री ओलीको आसन्न चीन भ्रमणका क्रममा समझदारी एवम् सम्झौता हुने विभिन्न आयोजना एवम् सहयोग आदानप्रदानबारे पनि आवश्यक छलफल भएको थियो ।

भेटका क्रममा दुई देशबीचको सदियौँ पुरानो सम्बन्ध, नेपालको आर्थिक सामाजिकलगायतका क्षेत्रमा चीनले पुर्‍याउँदै आएको सहयोग, आउँदा दिनमा पनि सहयोग र सहकार्यका नयाँ क्षेत्रहरूको पहिचानका साथै आर्थिक विकासका लागि सहकार्यलाई प्राथमिकता दिने बारेमा कुराकानी भएको थियो ।

चिनियाँ विदेशमन्त्री वाङको मैत्रीपूर्ण निमन्त्रणामा चीनको औपचारिक भ्रमण गर्न तथा प्रधानमन्त्री ओलीको आसन्न चीन भ्रमणको तयारीका सिलसिलामा परराष्ट्रमन्त्री राणा अस्ति बिहीवार छेन्दु पुग्नुभएको हो । प्रधानमन्त्री ओली पर्सि सोमवार चीनको औपचारिक भ्रमणमा जाँदै हुनुहुन्छ ।

Leave A Reply

Your email address will not be published.