काठमाडौं :
बिहीबारदेखि प्रदर्शनमा आएको फिल्म ‘अभिमन्यु : च्याप्टर १’ ले दर्शकबाट उत्कृष्ट प्रतिक्रिया प्राप्त गरिरहेको छ। फिल्म हेरेर बाहिरिएका अधिकांश दर्शकले ‘नेपाली समाजको ऐना’ जस्तो लागेको भन्दै सकारात्मक रिभ्यू दिएका छन्।
तराई–मधेसमा जारी दाइजो प्रथाले समाजमा ल्याउने भयावह अवस्था र त्यसले निम्त्याउने पारिवारिक तथा सामाजिक त्रास चलचित्रले प्रभावकारी ढङ्गले देखाएको दर्शकको प्रतिक्रिया छ। विषयवस्तुको संवेदनशीलता र प्रस्तुतिको गहिराइका कारण फिल्म ‘दर्शनीय’ बनेको उनीहरूको भनाइ छ।
फिल्म हेरिसकेपछि एक दर्शकले भने,‘फिल्मको नायिका जसरी विस्तारै अगाडि बढ्दै जान्छिन्, त्यो अहिलेको नेपाली समाजको यथार्थ हो। महिलाहरूले सामना गरिरहेका बाधा–अड्चन र बदलिँदो सामाजिक स्वरूपलाई चलचित्रले प्रष्ट्याएको छ। त्यसैले हामीलाई आफूले देखेको र भोगेको कथा जस्तै लाग्यो।’
फिल्म हेर्नेहरू केवल रिभ्यूमै सीमित छैनन्। धेरैले आफ्ना साथी–परिवारलाई समेत ‘मुटुमै हान्यो, अब तपाईंहरूले पनि हेर्नैपर्छ’ भन्दै सिनेमा हल जाने आग्रह गरेका छन्। ‘सबैले हेर्नुहोला, हाम्रै समाजको कथा हो। धेरैले आफूलाई पनि यसमा रिलेट गर्न सक्नुहुन्छ,’भन्दै दर्शकहरु हलबाट बाहिरिएका देखिन्थेँ।
फिल्ममा कामेश्वर चौरसिया र लक्ष्मी बर्देवा मुख्य भूमिकामा छन्। उनीहरूलाई किरण श्रेष्ठ, गौमाया गुरुङ, लक्ष्मी गिरी, प्रकाश दाहाल, शिशिर बाङदेल लगायत कलाकारले साथ दिएका छन्। साथै, रेखा थापा विशेष ‘अतिथि भूमिकामा’ देखिएकी छन्।
फिल्मलाई सुशान्त गौतमले निर्देशन गरेका हुन् भने मदन थापा क्रिएटिभ निर्देशक हुन्। कथासंरचना मुकेश खनालले तयार गरेका हुन्। विनोद पौडेल र गुञ्जन गिरी निर्माता रहेका फिल्मका सह–निर्मातामा रमेश चौलागाईं र हरि श्रेष्ठ छन्। कार्यकारी निर्मातामा विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ सम्मिलित छन्।
फिल्मका डीओपी शरद महतो हुन् भने मनोज श्रेष्ठका भिएफएक्स, जुनिम गहतराजको कलर ग्रेडिङ र मदान घिमिरेको सम्पादन रहेको छ। लाइन प्रोड्युसरमा जीवन शाक्य छन्।