सुचना, समाचार र मनोरन्जन

समुद्री घटनाको पूर्वानुमानमा चीनको नयाँ एआई मोडल सार्वजनिक

काठमाडौँ,

चीनका वैज्ञानिकले समुद्री पूर्वानुमान क्षेत्रमा ठूलो उपलब्धि हासिल गर्दै नयाँ कृत्रिम बुद्धिमत्ता अर्थात् एआई मोडल सार्वजनिक गरेका छन् ।

यसले आँधी, अत्यधिक वर्षा, आँधीबाट उत्पन्न समुद्रभित्रका शक्तिशाली तरङ्ग तथा समुद्री बरफ जस्ता जटिल समुद्री घटनाको पनि पूर्वानुमान गर्न सक्छ । पूर्वी चीनको शान्दोङ प्रान्त छिङदाओमा चौथो चीन डिजिटल पृथ्वी सम्मेलनमा हिजो यो नयाँ मोडलको औपचारिक उद्घाटन गरिएको हो ।

चीनको विज्ञान प्रतिष्ठानअन्तर्गतको समुद्र विज्ञान अनुसन्धान संस्थानद्वारा विकसित यो प्रणाली, सन् २०२४ को अन्त्यतिर सार्वजनिक गरिएको अघिल्लो संस्करणको उन्नत रूप रहेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । संस्थानका अध्यक्ष वाङ फानका अनुसार नयाँ प्रणालीले समुद्री अवस्थाको सामान्य पूर्वानुमानबाट अगाडि बढेर जटिल समुद्री घटनाको बुद्धिमत्तापूर्ण विश्लेषण र प्रत्यक्ष पूर्वानुमान गर्न सक्षम भएको छ ।

विशेषज्ञका अनुसार यसले तटीय क्षेत्रका बासिन्दालाई थप समयमै चेतावनी दिएर ठूलो जनधनको क्षति रोक्न मद्दत पुर्‍याउन सक्छ । अनुसन्धान टोलीका अनुसार भविष्यमा यसलाई जलवायु तथा समुद्री पारिस्थितिकीय अध्ययनसँग जोड्दै समुद्री बुद्धिमत्ता मञ्चको रूपमा विकास गर्ने लक्ष्य छ ।

Leave A Reply

Your email address will not be published.