काठमाडौँ :
नेपाली भाषा, साहित्य, सङ्गीत, कला र सामाजिक सेवामा लामो समयदेखि निरन्तर योगदान पुर्याउँदै आएका वरिष्ठ स्रष्टाद्वय अमर वान्तु र हरि ढुङ्गेललाई ‘हिमालयन इन्टरनेसनल अवार्ड-२०२६’ मा ‘दीर्घसाधना सम्मान’ बाट सम्मानित गरिने भएको छ। हिमालयन इन्टरनेसनल अवार्डको छैटौँ संस्करणमा गीत-सङ्गीत, साहित्य, कला र संस्कृतिको संरक्षण, संवर्द्धन तथा प्रवर्द्धनमा पुर्याएको दीर्घकालीन योगदानको कदरस्वरूप उनीहरूलाई दीर्घसाधना सम्मान अर्पण गर्न लागिएको अवार्ड संयोजक गीता अधिकारीले जानकारी गराइन्।
वान्तु र ढुङ्गेलले दशकौँदेखि नेपाली भाषा, साहित्य, गीत-सङ्गीत तथा सामाजिक क्षेत्रमा पुर्याएको योगदानले नेपाली सिर्जनशील जगत्लाई समृद्ध बनाएको छ। उनीहरूको निरन्तर साधना, सिर्जना र सामाजिक उत्तरदायित्वको सम्मानस्वरूप यस वर्षको ‘दीर्घसाधना सम्मान’ प्रदान गर्ने निर्णय गरिएको अधिकारीले बताइन्।
सिक्किममा जन्मेका हरि ढुङ्गेल नेपाली साहित्य, अभिनय तथा सामाजिक सेवामा लामो समयदेखि सक्रिय व्यक्तित्व हुन्। सरकारी सेवाबाट अवकाशपछि उनी साहित्य सिर्जना, सांस्कृतिक गतिविधि र सामाजिक सेवामा निरन्तर समर्पित रहँदै आएका छन्। उनका ‘हिमशिखा’, ‘मेरो जिन्दगी’, ‘अमृत वर्षा’, ‘यात्रा अमेरिकाको’ र ‘हिमालदेखि सागरसम्म’लगायत कविता, कथा, गीत र नियात्रासम्बन्धी सात कृति प्रकाशित छन्। उनका साहित्यिक कृतिहरूले नेपाली भाषा र साहित्यको विकासमा महत्त्वपूर्ण योगदान पुर्याएका छन्। ढुङ्गेल नेपाली साहित्य परिषद्, सिक्किमका अध्यक्ष हुन्। साहित्यसँगै अभिनय क्षेत्रमा पनि उनको योगदान उल्लेखनीय छ। उनले विभिन्न नाटक, चलचित्र तथा वृत्तचित्रमा अभिनय गर्दै आफ्नो बहुआयामिक प्रतिभा प्रस्तुत गरेका छन्। हरि ढुङ्गेलको गीतकारका रूपमा पनि उत्तिकै ख्याति रहेको छ। उनका शब्दमा नेपाली सङ्गीत क्षेत्रका चर्चित गायक–गायिकाले स्वर दिएका दर्जनौँ गीत लोकप्रिय छन्।
काठमाडौँ आउनुअघि सिक्किममै रहेका उनका चर्चित गीतहरूमध्ये ‘मन्दिरमा दीप जल्यो सम्झेँ तिमीलाई’, ‘आज म धेरै खुलेछु’, ‘टुटेको विश्वास जोडिन्न भन्थे’, ‘गीत गुञ्जियो बैँस छरियो’, ‘लाग्यो लौ लाग्यो’, ‘के गरेँ मैले यो दुनियाँमा’, ‘शङ्कालु नजर धेरै छन्’, ‘एक दिनको भेटमा माया बस्यो’, ‘कहाँ पुग्छ र माया’, ‘इन्साफ खोज्न म आएको होइन’, ‘गाउँछौँ हामी मादलको तालमा’, ‘यो नाम्ची सहरमा’, ‘तिम्रो दिलको कोठाभरि’, ‘मैच्याङको मन त रमायो’, ‘जालहारीको जाल हो कि मायाको सञ्जाल’, ‘म त हराइसकेँ’, ‘धेरै साँच्न मन लाग्यो’लगायत गीत विशेष चर्चामा छन्।
यस्तै, भोजपुरमा जन्मेका वरिष्ठ गीतकार अमर वान्तु नेपाली गीत-साहित्यका स्थापित नाम हुन्। बाल्यकालदेखि नै सङ्गीतप्रति रुचि राख्ने वान्तु परिवारकै साङ्गीतिक वातावरणमा हुर्केका थिए। उनका दाजुहरूले गिटार र हार्मोनियम बजाउने भएकाले बाल्यकालमै नारायण गोपाल, जेबी टुहुरेलगायतका गीत गाउने वातावरण उनले पाए।
विद्यालय र कलेज जीवनदेखि नै गीत, कविता तथा साहित्यिक गतिविधिमा सक्रिय वान्तुले आफ्नो सिर्जनशील यात्रालाई निरन्तर अघि बढाए। भोजपुरको दिल्पा अन्नपूर्ण विद्यालयबाट एसएलसी उत्तीर्ण गरेपछि धनकुटा कलेजमा अध्ययन गरेका उनी गीतकार बन्ने सपना बोकेर वि.सं. २०४५ मा काठमाडौँ आएका थिए। त्यसयता उनले नेपाली साङ्गीतिक क्षेत्रमा १५० भन्दा बढी गीत सिर्जना गरिसकेका छन्। जीवन, प्रेम, समाज र दर्शनलाई सरल तर गहिरो भावमा प्रस्तुत गर्ने उनको लेखन शैली नेपाली गीत-साहित्यमा विशिष्ट मानिन्छ। उनका ‘परिभाषाका राँटाहरू’ (केही गीत, केही कविता) कृति तथा ‘अमर भावना’ र ‘अमर भावना-२’ एल्बम प्रकाशित छन्। यसबाहेक उनका थुप्रै गीत, कविता र गजल विभिन्न माध्यमबाट सार्वजनिक भइसकेका छन्।
वान्तुद्वारा रचित ‘गर्मी भयो धरान’, ‘जीवन मृत्यु’, ‘काठै भाकाले’, ‘अरे क्यानाम’, ‘हरपल हरक्षण’, ‘माया हल्का हल्का’, ‘मनको फूलबारी’, ‘सम्बन्ध’, ‘तिम्रै प्रवाह’, ‘आँखैको भाकैमा’, ‘कसो गरी भरिएला सपनाको झोली’, ‘जिन्दगीको दौडमा’, ‘सिल्की कपाल उड्यो’, ‘तिम्रो सहर’, ‘हृदयको आवाज’, ‘मार्यो सुड्डोले’, ‘चकमक झुलो दल्छिन् ढुङ्गा’ लगायत गीत श्रोतामाझ लोकप्रिय छन्। उनका केही गीत करोडौँ क्लबमा पनि छन्। गीतकार, कवि, गजलकार तथा सामाजिक अभियन्ताका रूपमा उनले नेपाली समाजमा सिर्जनात्मक चेतना फैलाउन निरन्तर योगदान दिँदै आएका छन्। उनले गीतकार सङ्घको अक्षयकोष र आदर्श कन्या निकेतनमा ‘अमर वान्तु अक्षयकोष’ स्थापना गरेका छन्।
आयोजकका अनुसार अमर वान्तु र हरि ढुङ्गेलको सम्मान केवल दुई व्यक्तिको योगदानको कदर मात्र नभई नेपाली भाषा, साहित्य, सङ्गीत र संस्कृतिको दीर्घकालीन सेवाप्रतिको सम्मान पनि हो। उनीहरूको सिर्जनशील यात्रा आगामी पुस्ताका लागि प्रेरणाको स्रोत बन्ने विश्वास आयोजकले व्यक्त गरेको छ। यसअघि दीर्घसाधना सम्मान विशिष्ट सङ्गीतकार राजु सिंह, स्वर्गीय गुरुदेव कामद, वरिष्ठ गायिका तथा सङ्कलक चन्द्रकला शाह, वरिष्ठ गायिका ज्ञानु राणा तथा वरिष्ठ गायक खड्ग गर्बुजालाई प्रदान गरिएको थियो।
अवार्ड समारोहमा नेपाली गीत-सङ्गीतकर्मीलाई विशेष सम्मान गरिने तथा कला क्षेत्रमा कलम चलाउने पत्रकारलाई समेत सम्मानित गरिने अवार्डका अध्यक्ष गणेश सुवेदीले जानकारी गराए। यस्तै, बालप्रतिभालाई ‘राइजिङ स्टार अवार्ड’ पनि प्रदान गरिने उनले जानकारी दिए।
‘भाषा, साहित्य, कला संस्कृतिका सर्जकको सम्मान, हाम्रो एक अभियान’ भन्ने मूल नारासहित आयोजना हुन लागेको अवार्ड नेपाल-भारतका नेपाली भाषी कलाकार तथा स्रष्टालाई एउटै मञ्चमा जोड्ने उद्देश्यले यस पटक सिक्किमको राभाङ्लामा साउन ३ गते (१९ जुलाई) मा गर्न लागिएको आयोजकले जनाएको छ। यस अवार्डको अघिल्लो संस्करण थाइल्यान्डको बैंककमा भएको थियो। |हिमालयन अन्तर्राष्ट्रिय अवार्डले नेपाली कला, भाषा र संस्कृतिको प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको आयोजकको विश्वास छ।