काठमाडौँ :
नेपाली रंगमञ्चले अन्तर्राष्ट्रिय स्तरमा महत्वपूर्ण छलाङ मारेको छ। साहित्यकार जगदीश घिमिरे को चर्चित उपन्यास साबिति मा आधारित नाटक ‘साबिति : Not Guilty’ अब अमेरिकाको The Tank Theater मा मञ्चन हुने भएको छ।
बिमल सुवेदी को लेखन तथा निर्देशनमा तयार भएको नाटकमा बलिउड फिल्म लुटेराकी अभिनेत्री स्वच्छता गुहा ले मुख्य भूमिका निर्वाह गर्नेछिन्। नाटकमा नेपाली मूलका अमेरिकी कलाकार नवल राई र हलिउडमा सक्रिय जड मेयर्स को पनि अभिनय रहनेछ।
नेपाल र भारतमा सफल मञ्चन भइसकेको यो नाटकलाई न्यूयोर्कका दर्शक लक्षित गरी पुनर्लेखन तथा रूपान्तरण गरिएको छ। मूल कथाले विपन्न पुरुष पात्रमार्फत कथा अघि बढाए पनि नाट्य संस्करणमा महिला पात्रलाई केन्द्रमा राख्दै सशक्तिकरण र सामाजिक संरचनामाथि प्रश्न उठाइएको छ।

यो प्रस्तुति अमित प्रताप शाह नेतृत्वको आपन फाउन्डेसन र ‘द ट्याङ्क’ थिएटरसँगको सहकार्यमा हुन लागेको हो। न्यूयोर्कस्थित नेपाली महावाणिज्य दूतावासले यसलाई सांस्कृतिक कूटनीतिको रूपमा समेत प्रवर्द्धन गरिरहेको छ।
द ट्याङ्क थिएटरकी निर्देशक मेगन फिन ले Battery Dance Theater Festival मा सुवेदीको प्रस्तुति देखेपछि नाटकलाई प्राथमिकताका साथ मञ्चनको अवसर दिएको बताइएको छ। उक्त प्रक्रियामा ब्याट्री डान्स कम्पनीका संस्थापक जोनाथन होल्यान्डर को पनि महत्वपूर्ण भूमिका रहेको छ।
न्यूयोर्कस्थित नेपाली महावाणिज्यदूत दधिराम भण्डारी का अनुसार, मुख्यधारको अमेरिकी थिएटरमा नेपाली कथामा आधारित नाटक मञ्चन हुनु ऐतिहासिक उपलब्धि हो, जसले नेपाल–अमेरिका सांस्कृतिक सम्बन्धलाई थप सुदृढ बनाउनेछ।
नाटक अप्रिल २६ देखि एक सातासम्म पहिलो चरणमा मञ्चन हुनेछ भने मे महिनामा पुनः प्रदर्शन गरिनेछ। सफल भएमा अमेरिकाका अन्य राज्यहरूमा पनि मञ्चन गर्ने योजना रहेको निर्देशक सुवेदीले बताएका छन्। यसैबीच, सुवेदी निर्देशित चलचित्र ‘हिउँको गीत’ पनि यसै वर्षभित्र अन्तर्राष्ट्रिय बजारमा प्रदर्शनको तयारीमा रहेको छ।