सुचना, समाचार र मनोरन्जन
Fishtail IVF

अञ्जना भन्छिन : अवसर पायो भने काम देखाउँछे भन्ने ‘पुजार सार्की’मा प्रमाणित गरेकी छु

काठमाडौं:

डेब्यु फिल्म ‘महापुरुष’मा दर्शकको नोटिसमा त्यति पर्न नसकेकी अञ्जना बराईलीले पछिल्लो फिल्म ‘पुजार सार्की’बाट निकै अपेक्षा राखेकी छन्। यस फिल्ममा अडिसनमार्फत छानिएकी अञ्जनाले आफुले काम गरेको र दर्शकले नोटिस गर्नेमा विश्वास व्यक्त गरिन्।उनले पत्रकारसँगको कुराकानीमा फिल्ममा काम गर्र्दाको अनुभव सुनाईन्।

उनी भन्छिन्,‘तिहारको समय भएकाले तिहारपछि कामको कुरा अगाडि बढाउने कुरा भयो। मैले तिहारको पर्सिपल्ट उहाँलाई फोन गरेँ। उहाँले ‘हामी एउटा चलचित्र बनाउँदै छौँ। चलचित्रको कथा अनुसार एउटा क्यारेक्टरमा तिमी ठिक हुन्छौ कि भनेर कुरा गर्न खोजेको’ भन्नुभयो। त्यसपछि भेटेरै गफ गर्ने कुराकानी भएपछि त्यसको भोलिपल्ट लेखक बिकास सुवेदी दाइ, दिनेश सर, निर्माता सुवास भुसाल र म भेट्यौँ। त्यो भेटमा बिकास दाइले कथा सुनाउने बित्तिकै ‘पुजार सार्की’ वास्तविकतामा आधारित भएकाले मैयाँको चरित्र मैले गर्न पाए हुन्थ्यो जस्तो लाग्यो।’

उनी फिल्मबाट निकै अपेक्षित बनेको जस्तो उनको अनुहारमा भल्किन्थ्यो। किनभने पहिलो फिल्मबाट र दोस्रो फिल्म ‘चित्रा’मा राम्रो अभिनय गरेकी अञ्जना दर्शकको नोटिसमा पर्न सकेकी थिइनन्। त्यस कारण उनी आफुलाई दरिलो भुमिकाको कथा खोजिरहेको बेला निर्देशक दिनेश राउतको फिल्मको कथामा अनुबन्ध हुने मौका पाइन्। यसैले पनि होला उनको मुहारमा चमक बेग्लै थियो।

फिल्ममा आफुले रोजेको पात्रमा अभिनय गर्न पाए हुन्थ्यो भन्ठानेकी अञ्जनाले आफूलाई भनिएको क्यारेक्टर डिजाइन अनुसार मैयाँ पात्रका लागि अडिसन दिएकी थिइन्। दिनेश राउतले आफ्नो फिल्मका लागि स्थापित कलाकारको समेत अडिसन लिने गर्छन्। सोही अनुसार उनको अडिसन भएको थियो। अभिनयसँगै लुक टेस्टको पनि कुरा आएपछि उनले दुई पटक लुक टेस्ट दिइन्।

उनले अडिसन दिदाको कुरा खोतल्दै भनिन्,‘महापुरुषमा पनि अडिसन दिएकाले अडिसन दिन मलाई गाह्रो भएन। तर पहिलो लुक टेस्टमा क्यारेक्टरको टोन बढी डार्क भएको भन्ने कुरा आएपछि दोस्रो पटक लुक टेस्टमा पास भएपछि फिल्ममा जोडिएँ।’

IVF Big

यता निर्देशक दिनेश राउतको कुरा गर्ने हो भने उनी आफ्नो फिल्ममा स्थापित कलाकारको पनि क्यारेक्टर अडिसन दिने गर्छन्। त्यसको जल्दो बल्दो उदाहरण फिल्म ‘प्रकाश’को लागि अभिनेता प्रदीप खड्काको अडिसन लिएका थिए। सोही अनुसार अन्य थुप्रै कलाकारलाई अडिसन लिएर मात्रै आफ्नो फिल्ममा अभिनय गराउने बानी निर्देशक राउतको छ।

यस फिल्म अञ्जनाको जोडीको रूपमा अभिनेता आर्यन सिग्देल छन्। अञ्जनाले आफुले सानैबाट फिल्ममा देखेको हिरोसँग काम गर्न पाउँदा अत्यन्त खुबी लागेको बताईन्। आर्यन उनको सानै देखिको ‘क्रस’ हुन्। आफ्नै ‘क्रस’सँग अनस्क्रिनमा जोडिन पाउँदा उनलाई उत्तिकै डर भएको उनी बताउँछिन्।

‘मैले धेरै फिल्ममा काम गरेको छैन,’उनले आफ्ना कुराहरु फुकाउँदै भनिन्,‘त्यसमाथि यो फरक विधाको मजबुत विषय भइसकेपछि आफ्नो चरित्रलाई अझ मजबुत कसरी बनाउने भन्ने डर हुन्छ। अझ मेरो जोडी म भन्दा अग्रज हुनुहुन्छ। आर्यन दाइले ‘तिमीलाई मसँग अभिनय गर्दा गाह्रो भइरहेको छ भने भन्नु’ भन्दा मलाई थप ऊर्जा प्राप्त हुन्थ्यो। मैले धेरै पटक रिटेक खाँदा पनि उहाँ कहिल्यै रिसाउनु भएन।’
उनले थपिन्,‘यस्तै हुन्छ’ भनेर ढाडस दिनुहुन्थ्यो। सिनियर स्टार यति सरल हुन्छन् होला भन्ने कल्पना समेत थिएन।’

फिल्म ‘पुजार सार्की’मा स्थानीय सार्कीकी छोरीको भूमिका निभाएकी अञ्जनाले ब्राह्मणको छोरासँग प्रेममा परेकी हुन्छिन् तर, समाजले भने सम्बन्ध स्वीकार गर्न गाह्रो मान्छ। त्यसैको कथा वरिपरी फिल्म निर्माण भएको छ।

अञ्जनाले भनिन्,‘त्यो सम्बन्धलाई दिगो सम्बन्धमा परिणत गर्ने बेलासम्म के कति बाधा अड्चनहरू आउँछन् र के कति सङ्घर्ष गर्नुपर्छ भन्ने कुरा मेरो चरित्रले देखाउँछ। म समाजबाट दबिएको पीडित, त्यसमाथि पूजारसँगको सम्बन्धका कारण समाजले बहिस्कार गरेपछि झन् पीडित चरित्रमा छु।’

अघिल्ला फिल्ममा खासै बोल्न नसकेकी अञ्जना यो फिल्मको क्यारेक्टरलाई लिएर निकै खुलिन्। उनी भन्छिन्,‘सानो जात हुँदाहुँदै पनि प्रेम सम्बन्धले झन् बढी दबिएको र छोरी मान्छे भइसके पछि के कति कुरा फेस गर्नुपर्छ भन्ने कुरा मेरो चरित्रले देखाउँछ।’

यही बिहीबार रिलिज हुने फिल्म ‘पुजार सार्की’मा उनका साथमा प्रदीप खड्का, पल शाह, परीक्षा लिम्बु लगायतको पनि प्रमुख अभिनय रहेको छ। फिल्मलाई लगानी सुबास भुसालको छ।

Leave A Reply

Your email address will not be published.