सुचना, समाचार र मनोरन्जन

गायिका अञ्जना गुरुङको एकल सांगीतिक कार्यक्रम कार्तिक २१ गते हुँदै, वरिष्ठ गायक कमल बी.के. ‘निर्मोही’ सम्मानित हुने

काठमाडौँ – नेपाली सुगम संगीतको क्षेत्रमा दुई दशकभन्दा बढी समयदेखि सक्रिय गायिका अञ्जना गुरुङले आगामी कार्तिक २१ गते शुक्रबार काठमाडौंमा आफ्नो एकल सांगीतिक कार्यक्रम–२०८२ प्रस्तुत गर्ने भएकी छन्। कार्यक्रमको आयोजना टिका गोपाल एम. क्रियशनले गर्न लागेको हो।

आयोजक संस्थाका अध्यक्ष गीत सिंहका अनुसार, कार्यक्रममा गायिका गुरुङले आफ्ना चर्चित गीतहरू — “आँखैमा राख्छु मेरो देश,” “म त काली सुन्दरी,” “बदनाम भए म तिम्रै कारणले,” “आँधी सारी तिम्रो माया,” “ठ्याक्कै भेटौंला,” “नजर नजरको,” “जसले मुटु चुडेर लग्यो,” “माईला रोधी घरमा (कौडा)” लगायतका लोकप्रिय गीत प्रस्तुत गर्नेछिन्।

गायिका अञ्जना गुरुङ नेपाली संगीत जगतकी एक सम्मानित नाम हुन्। सुगम संगीतदेखि चलचित्रका पाश्र्वगायनसम्म उनले आफ्ना जादुमय स्वरले श्रोता–दर्शकलाई मन्त्रमुग्ध पार्दै आएकी छन्। उनको सादगीपूर्ण व्यक्तित्व, भद्र स्वभाव र विशिष्ट स्वरले उनलाई संगीत क्षेत्रमा अलग पहिचान दिलाएको छ।

सोही अवसरमा “कन्हैया–अञ्जना राष्ट्रिय संगीत पुरस्कार–२०८२” पनि प्रदान गरिने भएको छ। गायन जोडी कन्हैया सिंह परियार र अञ्जना गुरुङद्वारा स्थापित उक्त पुरस्कार यस वर्ष वरिष्ठ गायक कमल बी.के. ‘निर्मोही’ लाई प्रदान गरिनेछ। नगद राशि एकाउन्न हजार रुपैयाँ रहेको यो पुरस्कार नेपाली गीत–संगीतमा दीर्घ योगदान पुर्‍याउने स्रष्टालाई सम्मानस्वरूप दिइन्छ।

गायक ‘निर्मोही’ मध्यपश्चिम र सुदूरपश्चिम क्षेत्रका मौलिक भाकाका गीतहरूलाई नेपाली श्रोता–दर्शकमाझ पुर्‍याउँदै आएका अनुभवी कलाकार हुन्। पछिल्ला वर्षहरूमा उनी मृगौला रोगबाट पनि पीडित छन्।

यसअघि सो पुरस्कारबाट बरिष्ठ गायिका चन्द्रकला शाह (२०७८), गीतकार विश्व बल्लभ (२०७९), बाध्यवादक कृष्ण गन्धर्व (२०८०) र लोकगायक रेशम थापा (२०८१) सम्मानित भइसकेका छन्। 👉 यो एकल सांगीतिक कार्यक्रम गायिका गुरुङको कलात्मक यात्राको उत्सव मात्र नभई, नेपाली संगीतप्रति समर्पित कलाकारहरूलाई सम्मान गर्ने एउटा सार्थक मञ्च पनि बन्ने अपेक्षा गरिएको छ।

Leave A Reply

Your email address will not be published.