सुचना, समाचार र मनोरन्जन

मुस्ताङ र अन्नपूर्ण आधार शिविरमा पर्यटकको अकल्पनीय लर्को, आवास व्यवस्थापनमा चुनौती

म्याग्दी,

अन्नपूर्ण आधार शिविरमा गत असोजको अन्तिम सातादेखि सुरु भएको पर्यटकको लर्को यही कात्तिक दोस्रो हप्ताको सुरुआतसम्म पनि रोकिएको छैन । मुस्ताङ र अन्नपूर्ण आधार शिविरमा यस वर्ष यति धेरै पर्यटक आउलान् भनेर कसैले कल्पना गरेका थिएनन्।

पछिल्ला दिन मुस्ताङ, म्याग्दी, बागलुङ र पर्वतका होटलहरू भरिभराउ भएका छन् । होटल सञ्चालकलाई आवास व्यवस्थापन चुनौतीपूर्ण बनेको छ । दसैँ, तिहार, छठलगायत चाडपर्वको लामो बिदामा विद्यालय कलेजका विद्यार्थी, युवा, कर्मचारी, बैंक तथा वित्तीय संस्थाका कर्मचारी र चाडपर्व मनाउन विदेशबाट जन्मथलो आएकाहरूको रोजाइमा मुस्ताङ र अन्नपूर्ण आधार शिविर परेको हो । स्थल मार्गबाट घुम्नेहरूको रोजाइमा ती चार जिल्लाका पर्यटकीय स्थल परेको छ ।

आन्तरिक पर्यटकको पहिलो रोजाइमा मुस्ताङ जिल्लास्थित मुक्तिनाथ दर्शन गर्ने गन्तव्य बनेको छ । मुस्ताङ पुगेकाहरूले कोरला नाका, लोमान्थाङ दरबार, छोसेर गुफा, चिउँसी गुफा, चराङ गुम्बा, मराङ गुम्बा, कागबेनी, ढुम्बाताल र मार्फा गाउँको भ्रमण गर्ने गर्दछन् । यहाँ बर्सेनि आठ लाख बढी आन्तरिक र डेढ लाख बढी विदेशी पर्यटकले मुस्ताङको भ्रमण गर्ने जनाइएको छ ।

छोटो अवधिमा पहाडी र हिमाली क्षेत्रको एकै पटक साहसिक यात्रामा रुचि राख्नेहरू म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण हिमालको आधार शिविरमा पुगेका छन् । फुतफुते झरना र अन्नपूर्ण हिमालको फेदीमा रहेको निलो रङको पञ्चकुण्ड ताल हुँदै चार हजार एक सय ९० मिटर उचाइमा अवस्थित अन्नपूर्ण आधार शिविर पुगिन्छ । तीन दिनमा आधार शिविर पुगेर फर्कन सकिन्छ । निलगिरि र अन्नपूर्ण हिमालको फेदमा समथर फाँटमा रहेको अन्नपूर्ण आधार शिविर नयाँ गन्तव्य पनि हो ।

म्याग्दी हुँदै सडक मार्ग भएर दैनिक आठ हजार जना मुस्ताङ भित्रिएका छन् भने अन्नपूर्ण आधार शिविर जानेको सङ्ख्या दैनिक पाँच सय जनाभन्दा बढी छ।
बेनीका होटल व्यवसायी हरिकृष्ण श्रेष्ठका अनुसार अन्नपूर्ण आधार शिविर र मुस्ताङमा यसपालि कल्पना गरेको र भएका होटलहरूको क्षमताभन्दा धेरै सङ्ख्यामा पाहुना आएका छन् । उनले भने, “दसैँ र तिहारमा मुक्तिनाथ र उपल्लो मुस्ताङ भ्रमण गर्नेहरूको घुइँचो विगतदेखिनै भए पनि यसपालि अन्नपूर्ण आधार शिविर जानेहरू पनि थपिँदा होटल, रेष्टुरेन्ट र होमस्टेहरूले थेग्न नसकेका हुन् ।” आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनका लागि राज्यले बनाएको नीतिको व्यवहारिक कार्यान्वयन नहुँदा घुमेर रमाउन आएका पाहुनाहरूले गोजीमा पैसा भएर पनि खाना र बस्नका लागि दुःख पाउने अवस्था आएको उनको भनाइ छ ।

होटलको क्षमताले नथेकेपछि म्याग्दी र मुस्ताङका प्रशासन, सुरक्षा निकाय, होटल व्यवसायी र उद्योग वाणिज्य सङ्घले अग्रिम बुकिङ गरेर घुम्न आउन अनुरोध गर्नुका साथै कुश्मा, बागलुङ र पोखराका होटल, व्यक्तिका घर, सामुदायिक भवन र धर्मशालामा बसोबासको व्यवस्था मिलाएका छन् । म्याग्दीका होटलमा दैनिक दुई हजार र मुस्ताङमा दैनिक तीन हजार जनासम्म पाहुनालाई सहज रूपमा व्यवस्थापन गर्न सकिने क्षमता छ ।

भुरुङ–तातोपानीका होटल व्यवसायी राजु हमालका अनुसार अन्नपूर्ण आधार शिविर जोड्ने मौरिस हर्जोग पदमार्ग, म्याग्दी र मुस्ताङका होटलहरू यो हप्ताको अन्तिमसम्म बुक भइसकेका छन् । उनले भने, “छठपछि स्कुल, कलेज, कार्यालय खुल्ने हुँदा पाहुनाको आगमन दर घटे पनि अकुपेन्सी राम्रो छ ।” ‘जेनजी आन्दोलन’का कारण सोह्र श्राद्ध र प्रतिकूल मौसमले दसैँलगत्तै पर्यटक आगमन नहुँदा निराश भएका व्यवसायीलाई अहिले राहत मिलेको उनको भनाइ छ ।

सडक यातायातको सहज पहुँच र प्रचारप्रसारका कारण मुस्ताङ र अन्नपूर्ण आधार शिविर आन्तरिक पर्यटकको रोजाइमा परेको म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुविन श्रेष्ठले बताए । “मुक्तिनाथ, कागबेनीको तीर्थयात्रा गर्ने, हिमाल, उजाड पहाड, तालतलैया हेर्न, हिमाली जनजीवन र संस्कृतिमा रमाउने तथा गाडी चढेरै कोरला नाकासम्म पुग्न सकिने भएपछि मुस्ताङ धेरैको रोजाइमा परेको हो,” उनले भने । यात्रामा हिमालको फेदीमा पुग्न सकिने भएकाले युवायुवती अन्नपूर्ण आधार शिविरमा आकर्षित भएका हुन् । सामाजिक सञ्जालका सामग्री र सञ्चार माध्यममा प्रकाशन भएका समाचारले पनि पर्यटकीयस्थलको प्रचारप्रसारमा सहयोग पुगेको अध्यक्ष श्रेष्ठको भनाइ छ ।

पर्यटक आगमनले म्याग्दी र मुस्ताङमा होटल व्यवसायीलाई क्षमता र सुविधा वृद्धिका लागि प्रेरित गरेको, नयाँ लगानीको सम्भावना देखाएको तथा अन्नपूर्ण आधार शिविरको पदमार्गमा सीमित सङ्ख्याको क्षमतामा रहेका होटलहरूको क्षमता बढाउन राज्यलाई दबाब पुगेको उनले बताए । भ्रमणमा आउने पाहुनाहरूले अग्रिम बुकिङ गरेर आएमा व्यवस्थापनमा सहज हुने उनले बताए ।

भ्रमणमा आउने पर्यटकहरूले बेनी–जोमसोम सडकका म्याग्दी खण्डको अधुरो सडक स्तरोन्नतिलाई पूर्णता दिनुपर्ने, पहिरो तथा कटान प्रभावित ठाउँको सडकलाई सुरक्षित बनाउन, होटलहरूको वर्गीकरण गरी सेवा शुल्कमा नियमित गर्नुपर्ने बताएका छन् । अन्नपूर्ण आधार शिविर जाने पर्यटकहरूले नारच्याङ–हुमखोला सडक मर्मत, यातायात भाडादरमा एकरूपता, पदमार्गका होटलहरूको क्षमता र सुविधा थप, सञ्चार तथा विद्युत् सुविधाको व्यवस्थापनको आवश्यकता औँल्याएका छन् ।

म्याग्दी १ (क) बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीले तीनै तहका सरकारका निकाय, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप०, निजी क्षेत्र र सरोकारवालासँग समन्वय गरी पर्यटन क्षेत्रमा देखिएका समस्या पहिचान गरी समाधानको पहल गर्ने बताएका छन् ।

Leave A Reply

Your email address will not be published.