पोखरा ।
चारदिने औपचारिक भ्रमणका क्रममा नेपाल आएका संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले अन्नपूर्ण आधार शिविरको भ्रमण पछि पोखराको स्वागतबाट प्रफुल्लित भएको बताएका छन् । पोखराको पुरानो विमानस्थलमा संचारकर्मी सँग भेटघाट गर्दै उनले यस्तो बताएका हुन् । उनले संसारका राम्रा ठाउँ मध्येमा एक पोखरा रहेको उल्लेख गरे । उनले पोखराको सौन्दर्यताले मन लोभ्याएको बताए । जलवायु असर कम गर्न हिमाल र हिमनदी जोगाउनुपर्ने धारणा उनको छ । प्रदूषित वातावरण र जलवायु परिवर्तनलाई रोक्न आवश्यक रहेको भनाई उनको छ ।
जलवायु परिवर्तनमा योगदान नगर्ने तर परिणाम भोग्ने अन्य देशहरूलाई समर्थन गर्न आवश्यक रहेको उनले बताए । धेरै बाढी, धेरै पहिरो जस्ता प्राकृतिक प्रकोपले समुदायमा नकरात्मक असर परेकाले यसलाई चिर्न अन्तर्राष्ट्रिय स्थरमा ऐक्यबद्धता हुनुपर्ने विषयलाई उनले उल्लेख गरे । जलवायु परिवर्तनका विषयमा विश्वलाई स्पष्ट सन्देश प्रवाह गर्न आफुले भ्रमण गरेको उनले बताए । नेपाल र पोखराको भ्रमणले अन्तर्राष्ट्रिय स्थरमा सकरात्मक सन्देश प्रवाह हुने विश्वास उनले गरेका छन् ।
एन्टोनियोलाई गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, गण्डकी पर्यटन मन्त्री दीपेन्द्र बहादुर थापा,पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य लगायतले विदाई गरेका थिए । उनी लुम्बिनी प्रस्थान गरेका छन् ।