काठमाडौँ,
भारतको आन्ध्र प्रदेश र यानम तटीय क्षेत्रमा चक्रवात ‘अर्नब’ मङ्गलबार रातिदेखि जमिनमा प्रवेश (ल्यान्डफल) सुरु भएको छ।
भारतीय मौसम विज्ञान विभाग (आईएमडी) का अनुसार चक्रवातका कारण सो क्षेत्रमा भीषण वर्षा र तीव्र हावाहुरी चलिरहेको छ।
आईएमडीले जारी गरेको चेतावनीअनुसार चक्रवातको केन्द्रमा हावाको गति १२५ देखि १३५ किमी प्रतिघण्टा रहेको छ, जुन बढेर १५० किमी प्रतिघण्टासम्म पुगेको छ। पछिल्लो तीन घण्टामा ३ किमी प्रतिघण्टाको गतिमा उत्तर(पश्चिमतातर्फ अघि बढेको यो समुद्री आँधी सुरुमा बिस्तारै उत्तर(पश्चिम र त्यसपछि उत्तर(उत्तर–पश्चिमतर्फ अघि बढ्ने अनुमान गरिएको छ।

आईएमडीले आफ्नो बुलेटिनमा भनेको छ, ‘ल्यान्डफलको प्रक्रिया आगामी ३ घण्टासम्म जारी रहनेछ।’ बापटला र विशाखापटनमको बीचमा पर्ने यानमको दक्षिणतर्फ चक्रवात ठोक्किएको हो। सो क्षेत्रमा सतहको हावाको गति १२५ देखि १३५ किमी प्रतिघण्टा रहने र १५० किमी प्रतिघण्टासम्म पुगेर बिस्तारै घट्दै जाने मौसम विभागले जनाएको छ।
मौसम विभागले ठुलो बाढीको चेतावनी जारी गर्दै १।५ देखि २।५ मिटरसम्म अग्लो समुद्री लहर उठ्न सक्ने र यसले आन्ध्र प्रदेशका तल्लो तटीय क्षेत्रहरू डुबाउन सक्ने जनाएको छ। विशेष गरी काकिनाडा र पुडुचेरीको यानम नजिक सबैभन्दा अग्लो लहर आउने सम्भावना रहेको छ।
अक्टोबर २८ को बिहानसम्म अनकापल्ली र विशाखापटनम जिल्लाका धेरै स्थानमा २०० मिमीभन्दा बढी भीषण वर्षा भइसकेको छ।
चक्रवातका कारण आन्ध्र प्रदेशको काकिनाडामा धेरै रुखहरू ढलेका छन् भने बिजुलीका पोलहरू भाँचिएका छन्। भीषण वर्षा र तीव्र हावाहुरीका कारण विशाखापटनमको बिच रोड र सीताम्माधारामा रुख ढलेर सडक अवरुद्ध भएको छ। चक्रवात अर्नबको प्रभावका कारण भारतको पश्चिम बङ्गालका विभिन्न भागमा पनि भारी वर्षा र तीव्र हावाहुरीले जनजीवन प्रभावित पारेको छ।