चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा देशको आर्थिक वृद्धिदर ३ दशमलव ५१ प्रतिशत भएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार यो चालू आर्थिक वर्षको दोस्रो त्रैमासको तुलनामा ० दशमलव ५८ प्रतिशतले धेरै हो ।
विद्युत् उत्पादन तथा वितरण, निक्षेप सङ्कलन र ऋण प्रवाह, बीमा प्रिमियम सङ्कलन र व्यापार सेवामा भएको वृद्धिले तेस्रो त्रैमासलाई सहयोग पुगेको कार्यालयले जनाएको छ । तर निर्माण सामग्री आयात, धान उत्पादन र घरेलु उत्पादनमा आएको गिरावटका कारण समग्र वृद्धिदर सामान्यस्तरमै सीमित भएको छ ।
१८ औद्योगिक वर्गीकरणमध्ये १६ वटाको वृद्धि भएको छ । विद्युत् तथा पेट्रोलियम क्षेत्रले सबैभन्दा धेरै साढे २४ प्रतिशत वृद्धि हासिल गरेको छ भने वित्तीय तथा बीमा, यातायात र थोक व्यापार क्षेत्रमा पनि उल्लेख्य वृद्धि देखिएको छ ।
कृषि क्षेत्रको वृद्धिदर १ दशमलव ५८ प्रतिशत रहे पनि कृषि, वन तथा मत्स्य उपक्षेत्र भने ० दशमलव ०४ प्रतिशतले खुम्चिएको छ ।
यस अवधिमा अर्थतन्त्रको आकार ६४ खर्ब २७ अर्बबाट ६४ खर्ब ६५ अर्ब रुपैयाँ पुगेको कार्यालयले जनाएको छ ।