सुचना, समाचार र मनोरन्जन

असोज २ गते प्रदर्शनमा आउने फिल्म ‘सोल्टिनी’को छायाङ्कन पुरा

काठमाडौं :

आगामी असोज २ गतेबाट प्रदर्शनमा आउन थालेको फिल्म ‘सोल्टिनी’को छायांकन सकिएको छ। प्रकाश सपुत र परीक्षा लिम्बु स्टारर अभिनित फिल्मको ३६ दिनमा सुटिङ प्याकअफ भएको हो। नेपालको पुर्वी जिल्लाका इलाम बजार, बिब्ल्याटे,कन्याम, बिर्तामोड, पथरी र भोजपुरका दृश्यहरू कैद गर्दै फिल्मको छायांकन सकेको हो।

भोजपुरको अन्नपूर्ण गाउँमा भएको यसको  ‘इन्ड क्ल्याप’ दृश्यमा कलाकारहरू परीक्षा लिम्बु, सब्बु गुरुङ, कविता आले, सुजाता गुरुङ र प्रेम सुब्बाले अभिनय गरेका थिए।  निर्देशक अर्जुन सुवेदीले फिल्म ‘सोल्टिनी’को छायाङ्कन समयमै सकिनुको मुख्य कारण पूर्व तयारी रहेको जानकारी दिएका छन्।

सुटिङ सकिएपछि पत्रकारसँगको कुराकानीमा निर्देशक सुवेदीले भने,‘सशक्त स्क्रिप्ट, अनुभवी कलाकार र कुशल प्राविधिक टिमकै कारण हामीले निर्धारित समयभित्रै छायाङ्कन सम्पन्न गर्न सफल भयौँ । फिल्मको प्रत्येक दृश्यलाई सुन्दर बनाउन हामीले छायाङ्कन स्थलको राम्रो अवलोकन गरेका थियौँ । इलाम बजारदेखि भोजपुरसम्मका विविध स्थानहरूको चयनले कथालाई जीवन्त बनाउन मद्दत गर्‍यो।’

यस फिल्मले समाजमा व्याप्त अमानवीयता र जातीय भेदभावका विरुद्ध आवाज बोल्ने छ भने दुई प्रमुख पात्रबीचको प्रेम कथा पनि यसको मुख्य आकर्षण रहने निर्माण पक्षको भनाई छ। निर्देशक सुवेदीले दर्शकलाई फरक स्वादको कथासँग जोड्न चलचित्रले कुनै कसर बाँकी नराख्ने बताए।

फिल्ममा प्रकाश सपूत, विल्सन विक्रम राई, परीक्षा लिम्बु, सब्बु गुरुङ, रवीन्द्र झा, प्रकाश घिमिरे, प्रेम सुब्बा, कविता आले, सुन्दर धिताल, सुजन खतिवडा रहेका छन्। सपूतले ‘भीमसेन पोखरेल’ र लिम्बुले ‘दिलासा राई’को मुख्य भूमिका निभाउने फिल्मको घोषणामा नै बताइएको थियो। यो जोडी पहिलो पटक एकसाथ पर्दामा देखिन लागेको हो।

फिल्मको सङ्गीत प्रशान्त सिवाकोटी र हर्कुलस बस्नेतले दिएका छन् भने छायाङ्कन सुशन प्रजापतिले गरेका छन्‌। प्लानेट थ्री फिल्म्सको प्रस्तुति तथा नेपसिने र योलो इन्टरटेन्मेन्टको सहकार्यमा बनेको यो फिल्मका निर्माताहरू रेजिना बिस्ट र संसार चौलागाईँ हुन्।

Leave A Reply

Your email address will not be published.