सुचना, समाचार र मनोरन्जन

‘मन बिनको धन’ले सार्वजनिक गर्यो ‘ह्याप्पी बर्थडे’ गीत, आज जन्मदिन परेकालाई निःशुल्क शो

काठमाडौँ :

देशभरका हलमा तेस्रो सातासम्म प्रदर्शन भइरहेको चलचित्र ‘मन बिनको धन’ले नयाँ गीत सार्वजनिक गरेको छ। बालगायक अशोक दर्जीको मुख्य भूमिकामा बनेको फिल्मको ‘ह्याप्पी बर्थडे’ गीत युट्युबमार्फत सार्वजनिक गरिएको हो।

गीतमा टंक बुढाथोकी, मेलिना राई, अन्नु चौधरी, अशोक दर्जी र एआर बुढाथोकीको स्वर रहेको छ। शब्द, संगीत र एरेन्जिङ स्वयं टंक बुढाथोकीले गरेका हुन्।

गीत सार्वजनिकसँगै निर्माण टिमले आज जन्मदिन मनाउने दर्शकलाई निःशुल्क फिल्म हेर्न मिल्ने घोषणा गरेको छ। निर्देशक तथा निर्माता टंक बुढाथोकीका अनुसार जन्मदिन पर्ने दर्शकले हलमा टिकट किनेको प्रमाणसहित सम्पर्क गरेमा टिकटको राशि फिर्ता गरिनेछ।

चलचित्र ‘मन बिनको धन’ले २० दिनमै ३ करोड ६० लाख रुपैयाँभन्दा बढी बक्सअफिस कमाइ गरेको निर्माण पक्षले बताएको छ। देशभरका स्कुल–कलेजहरू विद्यार्थीलाई फिल्म हेर्न हलसम्म लगेका छन्। गुरु–शिष्य सम्बन्ध, पारिवारिक मूल्य, कर्तव्यबोध र जीवनशिक्षामा आधारित कथावस्तुले सबै उमेरका दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ।

फिल्म बालगायक अशोक दर्जीको वास्तविक जीवनयात्राबाट प्रेरित छ। दर्जीसँग अंगालो मारेर रुँदै गरेको दर्शकको भिडियो सामाजिक सञ्जालमा व्यापक भाइरल भइरहेको छ। पहिलो दिनदेखि जेन–जेड पुस्तादेखि ज्येष्ठ नागरिकसम्म हलमा देखिँदै आएको निर्माण पक्षको दाबी छ। यसअघि नै विद्यालय समूहका लागि छुटको घोषणा गरिएको थियो।

फिल्ममा अशोक दर्जी, सरोज खनाल, सन्तोष पन्त, रमा थपलिया, नीता ढुंगाना, रमेश विश्वकर्मा, भोला सापकोटा, बुद्धि तामाङ, रविन्द्र झा, पार्वती अधिकारी, एआर बुढाथोकीसहितका कलाकारको भूमिका छ। साम्राज्ञी थापा, बिना राउत, बाबु पराजुली, रक्षा श्रेष्ठ, प्रियंका झा, आर्यन पोखरेल र विजय डंगोल पनि प्रमुख भूमिकामा छन्।

टंक बुढाथोकीले लेखेको कथामा आधारित चलचित्रको पटकथा तथा संवाद शिवम अधिकारीले तयार पारेका हुन्। टंक बुढाथोकी प्रोडक्सनको ब्यानरमा बनेको फिल्मको निर्माण विष्णुमाया मैनाली, कार्यकारी निर्माण मिनु शर्मा (सपना) र सह–निर्माता जीपी संग्रोला, विवेक नेपाल तथा बिजया पाण्डे छन्। छायांकन सौरभ लामा, कोरियोग्राफी कविराज गहतराज र रामजी लामिछाने, सम्पादन मित्र डी. गुरुङले गरेका छन्।

Leave A Reply

Your email address will not be published.