काठमाडौं : पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा–२ बाट प्रतिनिधिसभा निर्वाचनका लागि दिएको उम्मेदवारी फिर्ता लिएका छन्। आफूनिकट नेताहरूसँगको छलफलपछि उनले यो निर्णय गरेका हुन्।
सामाजिक सञ्जालमा सार्वजनिक भिडियो सन्देशमार्फत भट्टराईले संसदमा सीमित हुनुभन्दा बाहिर रहेर जनतामाझ खबरदारी गर्ने र राजनीतिक दलहरूलाई सल्लाह–सुझाव दिने उपयुक्त ठानेको बताए। राज्यका संरचना कमजोर रहेको र ती सुधार तथा आर्थिक विकासका लागि सक्रिय भूमिका खेल्ने उनले जिकिर गरे।
भट्टराई प्रगतिशील लोकतान्त्रिक पार्टीका तर्फबाट उम्मेदवार थिए। उनी यसअघि गोरखा–२ बाट निर्वाचित भइसकेका छन्।
