सुचना, समाचार र मनोरन्जन
Sarangi

गण्डकीमा बाढी–पहिरोः हालसम्म ५ जिल्लामा अनुमानित २० करोड ८८ लाख क्षति

सन्तोष बस्याल
पोखरा ।

अविरल वर्षाका कारण आएको बाढी पहिरोले गण्डकीका ५ जिल्लामा अनुमानित २० करोड ८८ लाख ९२ हजार बराबरको क्षति भएको छ । बाँकी ६ जिल्लाको क्षति विवरण भने आईसकेको छैन । गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार गण्डकीका पाँच जिल्ला कास्की, गोरखा, बागलुङ, म्याग्दी र मुस्ताङमा अविरल वर्षाका कारण आएको बाढीपहिरोले क्षति पुर्याएको हो ।

२०८० साउन १ गतेदेखि हालसम्मको तथ्याङक अनुसार अविरल वर्षाका कारण आएको बाढीले सबैभन्दा बढी क्षति मुस्ताङ जिल्लामा भएको छ । मुस्ताङमा अनुमानित १९ करोड ८६ लाख बराबरको भौतिक क्षति भएको जनाइएको छ । जसमा पूर्ण घर ९ वटा क्षति भएका छन् । यस्तै आंशिक रुपमा क्षति हुने घरको संख्या मुस्ताङमा १३ रहेको छ । ९ वटा गोठ पूर्ण रुपमा क्षति भएका छन् भने एउटा सरकारी र एउटा प्रहरी कार्यालय पनि पूर्ण रुपमा क्षति भएको गण्डकी प्रदेश कार्यालयको विवरणमा उल्लेख छ । संघसंस्थाका ३ वटा संरचना पूर्ण क्षति भएका छन् । ५ वटा पुल, एउटा धर्मशाला, एउटा होस्टलमा समेत क्षति पुगेको छ । यस्तै सवारी साधन तर्फ ९ वटा मोटरसाइकल पूर्ण क्षति भएका छन् । क्षतिग्रस्त सानो सवारी साधनको संख्या २ रहेको छ । एउटा ठूलो सवारी साधनमा समेत क्षति भएको छ ।

गण्डकी प्रदेश प्रहरी कार्यालयले उपलब्ध गराएको क्षति विवरण

यसैगरी, कास्कीमा बाढी पहिरोका कारण एउटा घरको आंशिक क्षति भएको घटना छ । जसको अनुमानित क्षति रकम ३५ हजार हुन आउँछ । गोरखाको तीन ठाउँमा बाढी पहिरोले क्षति पुर्याएको छ । जस अनुसार दुई घरमा पूर्ण क्षति भएको छ भने विस्थापित हुने महिला पुरुषको संख्या ६ रहेको छ । अनुमानित क्षति रकम ९९ लाख ५४ हजार रहेको गण्डकी प्रदेश प्रहरी कार्यालयको तथ्याङ्कले देखाउँछ ।

बागलुङ जिल्लामा बाढी पहिरोको कारण हालसम्म एउटा घरमा मात्रै पूर्ण क्षति भएको छ । दुई जना विस्थापित छन् । अनुमानित क्षति रकम दुई लाख रहेको छ । म्यादी जिल्लामा बाढी पहिरोका कारण १ लाख ३ हजारको क्षति भएको छ । एउटा मोटरसाइकलमा पूर्ण क्षति भएको विवरण छ भने एक जना विस्थापित भएको जनाइएको छ ।

Leave A Reply

Your email address will not be published.